बिहिबार १४ साउन २०७८

३१ असार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दारसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ परेका उनीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण रिसालले जानकारी दिए ।

पक्राउ परेका प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारको टोलीले उनीहरुलाई गत फागुन २३ गते घुस रकम ६० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । अख्तियारले प्रहरी हवल्दार श्रेष्ठसँग ६० हजार रुपैयाँ विगो माग गरेको छ ।

त्यस्तै थुनामा रहेका व्यक्ति छुटाउन पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्कासँग ३०/३० हजार विगो माग गरिएको छ । प्रहरी हवल्दार श्रेष्ठले हिरासतमा रहेका एक व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै घुस माग गरेकी थिइन्।

उनले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी घुस मागेकी थिइन्।

सो सूचना पाएपछि गत फागुन २३ गते अख्तियार टंगालबाट खटिएको टोलीले श्रेष्ठलाई चाबहिलस्थित ओल्ड टाउन क्याफे एन्ड पब रेष्टुरेन्टबाट ६० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो।

अख्तियारले होटलका सञ्चालक अनिश जोशीलाई समेत नियन्त्रणमा लिएको प्रवक्ता रिसालले बताए। उनका अनुसार श्रेष्ठले सो घुस रकम जोशीलाई लिन लगाएका थिए।

sulavkhabar

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया