सोमबार ०६ बैशाख २०७८

काठमाडौं, २६ फागुन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) फुटाउनेबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृहकार्य थालेका छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएका छन् ।

तर, सरकारलाई दिएको समर्थन भने माओवादी केन्द्रले फिर्ता लिएको छैन् । पार्टी अलग भएपछि हिजो र आज दुई पटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ । तर, समर्थन फिर्ताबारे ठोस निर्णय लिएको छैन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गिराउने र कांग्रेस, आफ्नो पार्टी र जसपा नेपालको संयुक्त सरकार बनाउने गृहकार्यमा जुटेका छन् । तर, बालुवाटार भने नेकपा (माओवादी केन्द्र) नै फुटाउने गृहकार्यमा जुटेको छ । यसको लागि गृहमन्त्री बादलले प्रचण्डनिकट नेताहरुसँग आन्तरिक छलफल अघि बढाएका छन् ।

स्रोतकाअनुसार बादलसँगको छलफलमा माओवादी केन्द्र फुटाउनेबारे हरिबोल गजुरेल, जनार्दन शर्मा, देवेन्द्र पौडेल छन् । ओली सरकारको नेतृत्वमा माओवादी केन्द्रबाट पाँच जना मन्त्री छन् । गृहमन्त्री बादलसहित उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रममन्त्री गौरिशंकर चौधरी छन् । उनीहरु सांसद हुन् । खानेपानीमन्त्री मणिचन्द्र थापा र दावा लामा पनि माओवादी केन्द्रबाट मन्त्री छन् । तर, उनीहरु सांसद होईनन् ।

दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४०/४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान छ । माओवादी केन्द्रसँग ५३ सांसद छन् । दल विभाजनको लागि २२ सांसद आवश्यक पर्छ । बादलले त्यसको लागि प्रयत्न गरिरहेको बुझिएको छ ।

केन्द्रीय कमिटीमा बादलसहित उनीसँग वार्तामा बसेका नेताहरु मिल्दा ४० प्रतिशत सजिलै पुग्ने आँकलन गरिएको छ । माओवादी केन्द्र फुटाउन सहयोग गर्नेहरुलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिईने आश्वासन दिएको पनि स्रोतको दाबी छ ।

प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्नको लागि कांग्रेस र जसपा नेपालसँग पहल गरिरहेका छन् । हिजोमात्रै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरिसकेका छन् । आजमात्रै, पनि दाहालले जसपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका छन् ।

rreportersnepal

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया