Tuesday, October 27

पाउदेखि कम्मरसम्म घाउ नै घाउ छ। घाउ पिलिएर सहिसक्नु छैन म बाँच्न चहान्छु : मञ्जुकुमारी ठाकुर

August 2, 2020 118

(नैनही) महोत्तरी : पाउदेखि कम्मरसम्म घाउ नै घाउ छ। घाउ पिलिएर सहिसक्नु छैन। उपचार गर्न मन छ तर खर्च छैन। यस्तै पीडाले छटपटाइरहेकी छन्, १६ वर्षीया मञ्जुकुमारी ठाकुर। लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मञ्जु तीन वर्षदेखि ओछ्यानमै थला परेर बसेकी छन्।

उनी कसरी यो हालतमा पुगिन् त ? घटना तीन वर्षअघिको हो। जलेश्वर नगरपालिका-१२ नैनहीकी मञ्जु १३ वर्षकी थिइन्। उनी मामाघर गइन्। दीपावलीको उल्लास थियो। घर लिप्ने माटो लिन मामासँगै बाहिर गएकी थिइन्। माटो खन्दाखन्दै ढिस्को खस्यो। कम्मरमुनिको भाग तल पर्‍यो, ढिस्कोमाथि। मामासहितले मञ्जुलाई तानेर उद्धार गर्दा कम्मर खुस्कियो।

मञ्जुको उपचार जनकपुरमा गरियो। उनका बुवाले सुरसण्ड लगेर थप उपचार गर्ने भनेर अस्पतालबाट ल्याए। ‘उपचार गराउने रुपैयाँ साथमा भएन। घरको खाटमा सुताएर राखेको पनि तीन वर्ष बित्यो’, आमा शैलकुमारी देवीले भनिन्, ‘दैयाँ गें दैयाँ-बेटीके डाँर कि सरकलै जिन्दगी जुलुम भगलै।’

मञ्जु उभिन सक्दिनन्। पैताला, कुर्कुच्चा, गोडा, पिडँुला, घुँडा, तिघ्रा, कम्मर सुनिएर चल्दैनन्। यी अंगका रङ घाउको असरले कालो भएको छ। घाउमा पिप भरिएर गन्हाउँछ, झिंगा भन्किन्छ। उनका छेउ कोही पर्दैनन्। पीडा महसुस गर्नेको छाती भतभती पोल्छ, नबुझ्नेले छिःछिः दूरदूर गर्छन्।

जसको सास नै बोझ बन्यो
उनका बुवा शिवजी ठाकुर छोरीको उपचार गर्न लाग्नुको साटो उल्टै धारेहात लगाउँछन्। ‘तँ मरी जा, जिन्दगीभरिको बोझ भइस्। तँलाई कमाएर सुताई-सुताई कसले खुवाउँछ’ भनेर वचन लगाउँछन्। बुवाको बोलीले मञ्जुको मुटुमा सियो घोपेझैं हुन्छ। तब आफूले फेरिरहेको सास नै आफूलाई बोझ लाग्दो रहेछ।

‘मेरा लागि कोही भगवान् हुनुहुन्छ भने मलाई उपचार गराइदिनुस्। कसैको बोझ बन्न पटक्कै मन छैन’, मञ्जुले दसऔंला जोड्दै अन्नपूर्णसँग भनिन्, ‘निको भएर आफैं कमाएर खाने मन छ।’

मञ्जुकी एक मात्र सहारा भनकै आमा हुन्। तर, छोरीको पीडामा मलमपट्टी गर्न उनीसँग कुनै विकल्प छैन। मञ्जु ओछ्यानमै दिसापिसाब गर्छिन्। त्यसको व्यवस्थापन आमाले गर्छिन्। नुहाउन त झनै गाह्रो हुन्छ। महिनावारीका बेला असह्य पीडा हुन्छ।

‘गाउँमा भाडा माझेर छोरीलाई खुवाउँछु। धनदौलत कहींकतै छैन’, शैलकुमारीले भनिन्, ‘उपचार कहाँबाट गराउने ? छाक जुटाउनै धौधौ हुन्छ।’

शैलकुमारीका श्रीमान् फर्निचरको काम गर्छन्। ‘दुई पैसा भएको कमाइ पनि आफ्नै पेटमा धोक्छन्’, उनले दुःखेसो पोखिन्। उल्टै प्रत्येक साँझ रक्सीको मातमा अबेर राति दैलो टेक्छन्। ‘भात दे’ भनेर श्रीमतीलाई थर्काउँदा रहेछन्। ‘घरमा चामल, दाल भए पो खाना पकाउने भन्दा छोरी र मलाई तथानाम गाली गर्छन्’, शैलकुमारीले पीडा पोखिन्, ‘किन गाली गरेको भन्दा ओछ्यानमा सुतेकी छोरी र मलाई कुट्न पनि पछि पर्दैनन्।’

उनीहरूको घर महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरभन्दा ७-८ किलोमिटर पश्चिममा पर्छ। थरुवाहीभन्दा अलिक दक्षिण गएर नैनही गाउँ पुग्न सकिन्छ। मूल सडकबाट दुई सय मिटर भित्र गल्ली भएर उनीहरूको दैलोमा पुगिन्छ।

फुसको छानो, अर्ध पक्की घर रहेछ। गाउँको सडक पक्की नै छ। ‘शिवजी ठाकुरको घर कुन हो ? ’ अन्नपूर्णकर्मीको प्रश्नमा नैनही गाउँका एक वृद्धले हातले मञ्जुको घर देखाउँदै भने, ‘ऊ त्यही घर हो, खपराले छाएको।’ घरनजिकै पुग्दा मञ्जु झ्यालबाट बाहिर चिहाउँदै थिइन्। को होलान् भन्ने भावमा अन्नपूर्णको टोलीतिर नै नजर लगाइन्। उनको नजरमाथि हाम्रो क्यामेराको लेन्स फोकस भयो। मञ्जुको एक तस्बिर क्लिक गर्‍यौं।

Source Annapurna online

प्रतिकृया दिनुहोस्