Wednesday, October 21

कोरोना लागेको थाहा पाएपछि टोलका मान्छेले झ्यालबाट हेर्नसमेत दिँदैनन्

August 2, 2020 158

काठमाडौँ — स्वास्थ्य सेवा विभागको कोरोना संक्रमित व्यवस्थापन गर्ने युनिटले शुक्रबार जडीबुटीका एक युवालाई फोन गरेर संक्रमण पुष्टि भएको खबर गर्‍यो । ती युवाले विभागका कर्मचारीलाई अनुनय गरे, ‘घरमा प्रहरी र एम्बुलेन्स चाहिँ नपठाई दिनुस् है । अरूले थाहा पाउँछन् ।’

कोरोना लागेको थाहा पाएपछि समुदायले दुर्व्यवहार गर्ला भनेर उनले सुटुक्कै अस्पताल जान चाहेका थिए । विभागका कर्मचारीलाई उनले भने, ‘कोरोना लागेकामा मलाई चिन्ता छैन । निको भइहाल्छु । तर समुदायले थाहा नपाओस् ।’

माछापोखरीमा बस्ने एक परिवारमा बुधबार श्रीमान् र श्रीमतीलाई कोरोना देखियो । छोराछोरीको भने रिपोर्ट नेगेटिभ आयो । संक्रमित दुवै अस्पतालमा गएर आइसोलेसनमा बसे । ‘आमाबुबालाई अस्पताल लगेपछि खानेकुरा किन्न

बाहिर निस्केका थियौं । टोलवासीले पसलमा जान पनि दिएनन् । घेरा हालेर कोठामा फर्काए । अहिले कोठामा खानेकुरा पनि छैन,’ संक्रमितकी छोरीले रुँदै भनिन्, ‘टोलका मान्छेले झ्यालबाट हेर्नसमेत दिँदैनन् ।’

एक चिकित्सक काठमाडौंको धुम्बाराहीमा होम आइसोलेसनमा थिए । सरकारले संक्रमितलाई घरमै आइसोलेसनमा बस्न मिल्ने निर्देशिका बनाएको छ । ती चिकित्सक २१ दिनसम्म घरभित्रै बसेर २२ औं दिनमा जब घरबाट पसल जान बाहिर निस्के, वडाध्यक्षको आडमा टोलवासीले कोरोनामुक्त भएको रिपोर्ट मागे । उनीसँग पीसीआर रिपोर्ट हुने कुरा पनि भएन । अस्पतालमै आइसोलेसनमा बसेर फर्किनेको पीसीआर गरिँदैन । घरमै बस्नेको त हुने कुरा भएन । संक्रमित होम आइसोलेसनमा बस्न सकिने र १४ दिनपछि कारोनामुक्त हुने स्वास्थ्य मन्त्रालयको निर्देशिकासमेत उनले देखाए । टोलवासीले विश्वास गरेनन् । उनीहरूलाई चित्त बुझाउन उनले शुक्रबार टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर स्वाब दिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको ग्राफ उकालो चढिरहेको छ । प्रदेश २ र भारतबाट आएकामा संक्रमण देखिएको छ । टाढा कतै यात्रा नगरेका व्यापारी, व्यवसायीमा पनि कोरोना पोजिटिभ पाइएको छ । सुरक्षाकर्मी पनि संक्रमणको सिकार बनेका छन् । उनीहरूका लागि संक्रमणसँग जुध्नु जति चिन्ताको विषय छ, त्योभन्दा बढी समस्या समाजको डर बनेको छ । चाबहिलमा होटल व्यवसाय गर्ने एक पुरुषले असार ३१ मा कोरोना पोजिटिभ देखिएपछि सपरिवार कोठा छाड्नुपरेको सुनाए । ‘घरबेटीले संक्रमित भएको थाहा पाएपछि डेरामा बस्नै दिएनन् । अहिले बालाजुमा फ्ल्याट लिएर बसेका छौं,’ उनले भने ।

‘भेदभाव होइन, माया चाहिन्छ’

संक्रमण पुष्टि भएका सबैमा लक्षण छैन । साउन पहिला सातादेखि लक्षणसहितका संक्रमित बढी देखिन थालेका छन् । त्यसअघि लक्षण नभएका संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखेर पीसीआर परीक्षण गराउँदा नेगेटिभ आउन थालेपछि डिस्चार्ज गरिन्थ्यो । स्वास्थ्य मन्त्रालयले अस्पताल नगई घरमै आइसोलेसनमा बस्न सकिने मापदण्ड बनायो । त्यसपछि परिवारका सदस्यहरूबाट टाढै रहने पूर्वाधार भएकाहरू घरमै आइसोलसनमा बस्न थाले । अस्पतालमा बसेका पनि १४ दिनपछि पीसीआर परीक्षणबिनै डिस्चार्ज हुने नियम बन्यो । तर समुदायले पीसीआर रिपोर्ट खोज्ने गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले आइसोलेसन बसेर घर फर्कंदा पनि पीसीआर रिपोर्ट खोजेपछि केहीले आफ्नै खर्चमा परीक्षण गराएको बताए । ‘घरमै आइसोलसनमा बस्न खोज्नेलाई पनि छिमेकीले दुर्व्यवहार गरेपछि फेरि अस्पताल ल्याउनुपर्ने अवस्थासमेत देखिएको छ,’ उनले भने । काठमाडौं महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास वज्राचार्यले होम आइसोलेसनमा बसेका संक्रमित र अस्पतालबाट संक्रमणमुक्त भएर फर्केकालाई समुदायले दुर्व्यवहार गरेको गुनासो आएको बताए । ‘संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्न जाँदा पीडितले समुदायबाट पाएको दुर्व्यवहार रुँदै सुनाउँछन्,’ उनले भने, ‘समुदायले संक्रमित, उसको परिवारलाई मानसिक तनाव दिइरहका छन् ।’

ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना लागेका व्यक्तिलाई भेदभावभन्दा पनि माया देखाएर मनोबल बढाउनुपर्ने बताए । ‘मान्छेले जानीजानी आफूमा कोरोना सारेको हुँदैन । आज अरू संक्रमित हुँदा छिःछिः, दुरदुर गर्छौं, भोलि आफैंलाई संक्रमण हुन सक्छ,’ उनले भने, ‘त्यसैले संक्रमितलाई भेदभाव र छुवाछूत होइन कि माया चाहिन्छ ।’ कारोना लागेकै कारण भेदभाव गर्नु गलत भएको उनले बताए । कोरोनामुक्त भएर घर फर्केका र घरमै १४ दिन आइसोलेसनमा बसेकाले अर्को व्यक्तिलाई भाइरस सार्न नसक्ने अन्य मुलुकका अनुसन्धानले देखाइसकेकाले समाजमा घुलमिल हुँदा केही फरक नपर्ने उनले बताए । ‘कोरोना जित्ने त समाजको हिरो हो,’ उनले भने, ‘संक्रमितलाई रगत चाहियो भने पनि उनीहरूकै लिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले संक्रमित भनेर भेदभाव नगरौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमित र संक्रमणमुक्त भइसकेका व्यक्तिलाई हुने भेदभाव र छुवाछूतविरुद्ध जनचेतनाको कार्यक्रम सुरु गर्न लागेको बताए । ‘हाम्रो काम जनचेतना जगाउने हो । अहिले केही हदसम्म गरिरहेका छौं । यसलाई व्यापक बनाउँदैछौं,’ उनले भने, ‘कोरोना सामान्य रोग भएकाले १४ दिनपछि निको हुन्छ । कोरोना लागेपछि भेदभाव नगरौं । पीडितले दुर्व्यवहार गरेको आरोपमा उजुरी दिए कारबाही हुन्छ ।’

स‍ंक्रमणमुक्त भइसकेका एक व्यक्ति भन्छन्– ‘दुर्व्यवहार सहन नसकेर गाउँ फर्किएँ’
टिचिङ अस्पतालमा वैशाख २४ गते सुत्केरी भएकी सिन्धुपाल्चोककी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भयो । मेरी श्रीमती टिचिङमा वैशाख २३ मा सुत्केरी भएकी थिइन् । हामीलाई संक्रमण भयो कि भन्ने डर लाग्यो । टेकु र टिचिङ अस्पतालमा कोरोना परीक्षण गरिदिन आग्रह गरें । कसैले वास्ता गरेन । मैले नगरपालिकामा आग्रह गरेर परीक्षण गराएँ । नगरपालिकाले परिवारका पाँच जनाको कोरोना परीक्षण गरेको थियो । मेरो पोजिटिभ देखियो । अरूको नेगेटिभ थियो । १२ गते टेकु अस्पतलमा भर्ना भएँ । १५ गतेसम्म दुई पटक पीसीआर परीक्षण गर्दा नेगेटिभ आयो । १५ गते डिस्चार्ज भएँ ।

मेरो कोठा टोखामा थियो । कोठामा पुग्दा घरबेटीदेखि टोल छिमेकसम्मले मेरो परिवारलाई छिःछिः दुरदुरको व्यवहार गरिरहेको पाएँ । श्रीमतीलाई सुत्केरीको सकस त छँदै थियो । कोठामा थप १४ दिन आइसोलेसन सकेपछि म बाहिर निस्किएँ । घरबेटीले अर्को तला जान दिएनन् । घरबेटी बोल्न पनि छाडे । केही दिनपछि त कोठा छाड्नू भने । लकडाउनले चहलपहल थिएन । कोठा खोज्न कहाँ जानु ? कोठाका सबै सामान गोंगबु चोकमा रहेको मेरो अफिसमा लगेर राखें । अनि मोटरसाइकलमा एकमहिने बच्चा च्यापेर पर्वतस्थित घरमा आएँ । हामी संक्रमित भएको यहाँ कसैलाई थाहा छैन । काठमाडौं रहँदा मेरो परिवार र मैले भोगेको दुर्व्यवहार भनिसाध्य छैन । अवस्था सामान्य भएपछि मात्रै काठमाडौं आउँछौं । अहिले आएर पनि के गर्नु ? कोठा पाइँदैन ।(कुराकानीमा आधारित)

Source Kantipur online

प्रतिकृया दिनुहोस्