बुधबार २० साउन २०७८

वि.सं. ०४१ सालमै अध्ययन सुरु भएको भनिएको मेलम्ची खानेपानी आयोजना वि.सं. २०७७ सालमा पूरा भएको छ। आयोजनाको चर्चा चलेको ३७ वर्षपछि मेलम्चीको पानी सिन्धुपाल्चोकबाट काठमाडौंको सुन्दरीजलसम्म आइपुगेको चर्चा चारैतिर छ। चलचित्र ‘भन्नै सकिनँ’को ‘पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो…’ बोलको गीत जस्तै राजधानीवासीको मेलम्चीको पानीले प्यास मेटाउने एउटा प्यासी सपना अन्ततः पूरा भएको छ।

अनेकौं हण्डर, ठक्कर खाएर, भेलबाढी सहेर, धूलो मैलो हिलो टकटक्याएर, कैयौंका लागि राजनीतिक श्राप र गालीको विषय बनेर, कैयौंका लागि जीवन मरणको अनि प्रतिष्ठाको विषय बनेर, कैयौंका लागि चिल्ला कार चढ्ने, महल ठड्याउने, छोराछोरी विदेश पढाउने, निर्वाचन खर्च जोहो गर्ने ‘माल’ आयोजना बनेर, कैयौंलाई आफूसँगै सुरुङभित्र बगाएर, भत्किएर, हल्लिएर, हराएर, भागेर, च्यापेर ठगेर वा जेसुकै दुःख-सुख सहेर अपमानको भारी बोकेर मेलम्ची आखिरीमा बग्दै बग्दै राजधानी आइन्।

मेलम्चीको समाचार सुनेर हुर्किएका युवा अहिले बुढा भइसके। हालै सुन्दरीजलमा बटन थिच्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए- ‘यो आयोजनाको कुरा चल्दा मेरो कपाल कालो थियो, अहिले सेतो भइसक्यो।’ यसबाट नै प्रस्ट हुन्छ मेलम्चीको लम्बेतान दुःखको कथा। यतिका दशकमा त सगरमाथाको टुप्पोको हिउँ पगालेर बनाएको पानी पनि राजधानी ल्याउन सकिने हो। तर हामीलाई मेलम्चीले नै ‘आउँछु। एक दिन पक्कै आउँछु। आउँछु नि बाबा विश्वास गर न,’ भनेर व्यग्रतापूर्ण सपना बाँडिरह्यो। हामी पनि कति धैर्यवान् है ? आउँछिन् भन्ने आशामा एक जुग नै कुरिरह्यौ।

मलाई त यस्तो लाग्छ कि शायद, खोजबीन नै गर्‍यो भने संसारमा सबैभन्दा लामो समय लागेको आयोजना मेलम्ची नै होला। सागरमुनि हजारौं किलोमिटर प्वाल पारिसके। जमिनको अन्तिम सतहमा के रहेछ भनेर हेर्न र चारैतिरको फोटो खिच्न अन्तरिक्षमा यानहरू उडिसके। तर एकबारको जुनीमा यो धर्तीमा त्यही पनि त्यहीँ पर सिन्धुपाल्चोकको मेलम्चीले धुरुधुरु रुवायो, तड्पायो, बेचैन बनायो, छटपटी बनायो। मेलम्ची आयोजना सुरु हुँदा पूर्व खानेपानी मन्त्री बिना मगर जन्मिएकी पनि थिइनन्। हामी त कता थियौँ ? अकाशमा थियौं कि, जमिनमा थियौँ ? कि कुनै अर्को ग्रहका नक्षेत्रमा थियौँ ? यो पूर्वानुमान गर्न सकिने विषय रहेन।

यो आयोजना समयमै सम्पन्न हुनुमा सरकारको नेतृत्वकर्ताको हिसाबले प्रधानमन्त्री केपी शर्मा ओली धन्यवादको पात्र अवश्य छन्। तर प्रत्यक्षरूपमा भन्नुपर्दा मेलम्चीले बिना मगरको तन, मन, वचन र कर्म सबै चोरेर लग्यो। उनका लागि मेलम्ची जीवन मरणको लडाई थियो। राजनीतिक प्रतिष्ठाको विषय त थियो नै। प्रचण्डको बुहारी भएर मन्त्री भएकी यिनले के गर्न सक्लिन् र.. भन्ने धेरैको आशंका थियो। त्यसै त महिलाले साहसिक कामहरू पूरा गर्न सक्दैनन् भन्ने थिति जो छ।

भैरवनाथ गणमा भोगेका यातनादेखि स्ववियु निर्वाचनसम्म उनले भोगेका दुःख र संघर्षबारे कसैलाई सरोकार थिएन। मात्र सबैको यही सरोकार थियो, कस्ता-कस्ता मान्छे आए मेलम्चीको पानी काठमाडौं ल्याउँछु भन्ने। अब यो बिना मगर कहाँकी हो, कसरी कहाँबाट ल्याउँछे पानी ? भन्नेहरू पनि पढेलेखेकै मानिसहरू देखिए, भेटिए। शायद यिनै आलोचनाबाट आजित भएर, इखालु भएर पनि होला जसरी पनि मेलम्चीको पानी राजधानी उतारेरै देखाउनका लागि उनी आक्रामक शैलीमा प्रस्तुत भएकी थिइन्।

अहिले धन्यवाद प्रधानमन्त्री केपी शर्मा ओलीले खाइरहेका छन्। मणि थापाले पनि खाँदैछन्। ठिकै छ। जो जस्तो भूमिकामा रहे पनि आखिर विकास निर्माण भनेको राज्यसत्ताको काम हो, धर्म हो। तर छातीमा हात राखेर भन्नु पर्दा बिना मगर यस्ती एक जना अकाट्य पात्र हुन्, जसले मेलम्चीलाई आफ्नो राजनीतिक भविष्य र प्रतिष्ठासँग जोडेर हेरेकी थिइन्। काम गरेकी थिइन्। कुलमान घिसिङलाई बिजुलीको चिम बेचेर खायो भन्ने आरोप जस्तै बिना मगरलाई पनि ठेकेदार लगाएर पैसा खायो भन्ने आरोप लगाइयो, तर ती फर्जी आरोपहरू, मिथ्या आरोपहरू, नयाँ कम्पनी भित्रिएसँगै बेतुक ठहरिए। त्यसपश्चात् मेलम्चीमा के भयो, त्यसको परिणाम मेलम्ची आज सुन्दरीजलमा बग्दैछिन्।

मेलम्ची बिना मगरको कल्पना थिएन। उनी त केवल समयक्रमसँगै मेलम्चीको हुण्डरीमा मिल्न आइपुगेकी थिइन्। ‘म अविवाहित हुँ तर कुमार भने हैन’ भनेर विवादास्पद तर रसिक अभिव्यक्ति दिने सन्त नेताका रूपमा परिचित तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर सडक पखाल्छु’ भन्ने घोषणा गरेका थिए। उनको यस प्रकारको घोषणा आजको मितिसम्म पनि मानिसहरूको जनजिब्रोमा झुण्डिएर बसेको पाइन्छ। यस्तो लाग्छ, आज तिनै सन्त नेता कृष्णप्रसाद भट्टराईको मेलम्ची कल्पना व्यावहारिक रूपमा साकार भएको छ।

मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्ने उनै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको घोषणासँगै मेलम्ची खानेपानी आयोजनासँग राजधानीबासीको एक प्रकारको अधुरो सपना रहिरह्यो। त्यो अधुरो सपना सधैँ अधुरो हुँदै आएको थियो। दिन बिते, महिना बिते, वर्ष बिते, दशक बिते, युग बिते, तर काठमाडौंको प्याससँग मेलम्चीले लुकामारी गरिरह्यो। मजाक गरिरह्यो। बहुदलपछि भट्टराई प्रधानमन्त्री भए।

०४८ को चुनाव प्रचारका क्रममा उनलाई कसैले मेलम्ची खानेपानी आयोजनाबारे नसुनाइदिएको भए के हुन्थ्यो ? शायद मेलम्चीको वार्षिक २ अर्ब लिटर पानी राजधानीवासीका लागी पर्खाइको विषय हुँदैनथ्यो। जे होस्, भट्टराईले आफ्नो कल्पना नेपालीमाझ राखे। कल्पना गर्नु सबैभन्दा महत्त्वपूर्ण र महान् कार्य हो। भलै मेलम्चीको जस भट्टराईले लिन पाएनन्, तर काल्पनाशीलताको जस उनैलाई दिनुपर्दछ।

राजनीतिमा सबैभन्दा प्रिय कुरा हो, जनताका लागि आफूले गरेको योगदानको जस लिने काम। वा यसो भनौं राजनीति जनताको हितका लागि गरिन्छ र त्यो परोपकारी हुने गर्छ। हाम्रा सांसदहरूले जिल्लामा, गाउँमा पुगेर मैलै यो आयोजना र विकासका लागि यति रकम पारेँ, यो आयोजना मेरै कारणले सम्भव भयो भनेर भाषण गर्ने गर्छन्।

यो पनि एउटा जस लिने उपाय हो। वि.सं ०४२ तिर अष्ट्रेलीयन कम्पनीले मेलम्चीको सम्भाव्यता अध्ययन गर्ने जिम्मा लिएको थियो। अन्तिममा पूरा गर्ने अवसर अरू कम्पनीहरूलाई मिल्यो। देशमा अस्थिर राजनीतिक वातावरण हुँदा र शासक खास गरी नेतृत्व क्षमतावान् र दूरदर्शी नहुँदा देशको विकासका कस्तो असर पर्दछ भन्ने बलियो उदाहरण मेलम्ची खानेपानी आयोजना हो।

जस लिनकै लागि अरूले गरेको काम मैले गरेको हो भन्ने प्रवृत्ति पनि हामीकहाँ छ। अन्टसन्ट कुरा गरेर नेताहरूले यो पनि मैले गरेको हो, त्यो पनि मैले गरेको हो भनेर एउटा झूटलाई हजार पटक घोकेर सत्य साबित गर्ने प्रयासहरू पनि देखिन्छन्। लोडसेडिङ कुलमान घिसिङले हैन मैले हटाएको हो भन्नेहरू पनि निस्किए। तिनीहरू औँलामा गन्न नसकिने गरी निस्किए। वास्तवमा मेलम्चीको काम सकिनुमा पूर्व खानेपानी मन्त्री बिना मगरको निकै ठूलो योगदान छ। राजनीतिक घटनाक्रमसँग जोडेर उनको महत्त्वपूर्ण योगदानलाई नजरअन्दाज गर्न मिल्दैन।

कसैको देवत्वकरण र दानवीकरण गर्नु आवश्यक छैन। सत्य कुरालाई ठिक साँचो हो भन्ने धर्म र त्यस प्रकारको चेतना गुमाउनु हुँदैन। दशकौंदेखि बन्धकजस्तो बनेको मेलम्ची खानेपानी आयोजनाका लागि धेरै प्रधानमन्त्रीहरूले पहलकदमी लिए। धेरै मन्त्री र सचिवहरू फेरिए। ठेकेदारहरू समेत फेरिए। जो खानेपानी मन्त्री हुन्छ, उसको टाउको शपथ खाँदादेखि नै दुख्न सुरु गर्छ। विवाद, शंका र सम्भावनासहित उसको कार्यकाल सुरु हुने गर्छ। यस कारण पनि होला यो मन्त्रालयलाई धेरैले आँखा लगाउँदैनन्, काम गर्न सकिने हैन क्यारे भनेर सामान्य मन्त्रालयको रूपमा लिने गर्छन्।

तर खानेपानी मन्त्रीका रूपमा बिना मगर आएपछि यो मन्त्रालयको गरिमा नै कहाँ पुग्यो कहाँ। खै किन हो सबैको ध्यान यही मन्त्रालयतर्फ सोझियो। पत्रकारहरू समेत चनाखो बने। भुईँचालो आयो, काम प्रभावित भयो। ठेकेदार भाग्यो। तर पनि बिना मगर टाउकोमा कामदारको टोपी लगाएर सुरुङ निरीक्षण गर्न गइरहिन्। ठेकेदारहरूलाई ताकेता गरिरहिन्। काम गर्न बाधा पुर्‍याउने सचिवालयलाई कारबाही स्वरूप सरुवा गरिन्। उनको पुरै ध्यान मेलम्चीमा मात्रै सीमित थियो। उनका लागि मेलम्ची जीवन मरणको सवाल थियो। उनको सम्पूर्ण राजनीतिक भविष्य नै मेलम्चीको भविष्यसँग जोडिएको थियो।

त्यही भएर होला उनले पटक-पटक अब मेलम्चीको पानी काठमाडौं आउन धेरै समय नलाग्ने घोषणा गरिरहिन्। मिति पनि घोषणा गरेको अवस्था थियो, तर प्राविधिक पक्ष थियो, कहिले दुर्घटना त कहिले बाँध भत्किँदा समस्या आइरहेको थियो। तर पनि उनले संसदीय समितिहरू र मन्त्री परिषदमा मेलम्चीको प्रगतिबारे ब्रिफिङ गरिरहिन्, किनकि उनमा निकै ठूलो हिम्मत, साहस जुटेको थियो। आफ्नै कार्यकालको समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने महत्त्वाकांक्षा उनीभित्र बलियोसँग जरा गाडेर बसेको थियो।

तर राजनीतिक घटनाक्रमले बिना मगर अचानक मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो। संसद नै विघटन भएपश्चात् पक्कै पनि उनमा पक्षधरता स्वाभाविक थियो। संसद विघटनलाई प्रतिगमन किटान गरेर उनी प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्री मण्डलबाट निस्किए। उनले मन्त्री पद काम गर्न नसकेर त्यागेकी हैनन्, राजनीतिक परिस्थिति त्यस्तै बन्यो। तर यो कुरा भन्न तपाईँ हामी कसैले पनि अप्ठ्यारो मान्नु हुँदैन कि, मेलम्चीको पानी आउने कुरा घोषित थियो, त्यो सुचारु थियो, पूर्वनिर्धारित थियो। बिना मगर आफ्नै पालामा मेलम्चीको पानी काठमाडौं ल्याउने अन्तिम तयारीमा थिइन्।

तर विडम्बना भनौं वा दुर्भाग्य, सबै कुरा ठिक्क भइसकेपछि उनी बाहिरिनुपर्ने राजनीतिक वातावरण बन्यो। खानेपानी मन्त्रीका रूपमा मणि थापा भित्रिए। मणि थापासँग पनि आफ्नो दृष्टिकोण कार्य क्षमता पक्कै होला। तर यो बिचमा मणि थापा मेलम्ची आयोजनामा जम्मा एक पटक गएका छन्। दोस्रो पटक जाँदा बटन थिच्ने सौभाग्य प्राप्त गरे हो यो सरकारले, राज्यले जस लिने कुरा हो। यो बहुआयामिक आयोजना हो। तर दुःखको कुरा यो पनि पक्कै हो कि, अभागी बिना मगर, जसले मेलम्चीको पानी काठमाडौं ल्याइन्, तर उद्घाटन गर्न पाइनन्। मेलम्चीको पानी काठमाडौं आउनुमा बिना मगरको सबैभन्दा धेरै योगदान छ। यदि सबैले उनले जसरी नै योगदान गरेको भए शायद मेलम्चीको पानी दशकौंअगाडि काठमाडौं आइसक्ने थियो।

यसरी आयोजना निर्माण थालिएको कैयौँ दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै शनिवार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। यो हामी सबैका लागि खुसीको कुरा हो। कसैका पालामा धेरै काम भए, कसैका पालामा थोरै काम भए होलान् तर मुख्य गरी यहाँ सबै कुरा आत्मकेन्द्रित ढङ्गले चर्चा गर्ने गरिन्छ। जसले मेलम्ची सपनाका लागि तन, मन, वचन दिएर अथक प्रयासरत रह्यो उसैलाई मन्त्रीबाट हट्नासाथ पानी आयो भनेर अपमानजनक टिप्पणी गरिएको पाइन्छ। के वास्तवमा नै त्यस्तै हो त ? के मेलम्ची आफैँ सलल बग्दै आएको हो त? यदि हो भने यतिका दशकसम्म किन आएन त ?

बिना मगरलाई राजनीतिक दबाब पक्कै थियो, आफ्नै पालामा छिटो काम सकौं भन्ने तनाव पनि थियो। त्यही भएर आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरुङमा पानी छाडेको थियो। आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ। विगतमा पनि असारमा पहिलो पटक गरिएको परीक्षण नगरिएको हैन। त्यो असफल भएको थियो। अब सुरुङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्नेछ। यसरी पूर्व प्रधानमन्त्री एवं सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न बिना मगरले महत्त्वपूर्ण भूमिका खेलिन्।

सुन्दरीजलमा बटम कसले थिच्यो भन्ने कुरा मुख्य हैन। सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्‌। त्यो ठूलो कुरा हो। मकै कसले रोप्यो भन्ने कुरा ठूलो कुरा हैन, भोकाएकाहरूको भोक मेटियो कि कुहिएर गयो भन्ने मुख्य विषय हो। मेलम्ची खानेपानी आयोजनाको कार्य प्रगति प्रतिवेदन हेर्ने हो भने सबैभन्दा धेरै र महत्त्वपूर्ण काम बिना मगरको पालामा भएको छ।

बिना मगर २०७४ चैत २ गते खानेपानी मन्त्रीमा नियुक्त भएकी थिइन्। २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भयो। मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि समेत भन्यो। ३७ वर्षदेखि सुरु भएको मेलम्ची आयोजनाको काम बितेको एघार महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन्। ११ महिनामा यति धेरै हुनु आफैँमा महत्त्वपूर्ण उपलब्धि हो। राजनीतिक कारणले बिना मगरले मन्त्री पदबाट राजीनामा दिनुभन्दा ४ महिना अगाडि नै आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत सकिएको थियो।

इटालीयन कम्पनी सीएमसीले बिचमा काम छाडेपछि पूर्वमन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो। सम्झौतापछि सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण मगरकै कार्यकालमा मेलम्ची आयोजना सम्पन्न हुन सकेन। तर, मन्त्री मगरको कार्यकालमा मेलम्चीमा सबैभन्दा बढी प्रगति भएको छ। एक अध्ययनका अनुसार मेलम्ची खानेपानी विकास समितिले तयार गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदनमा पूर्वमन्त्री मगरको कार्यकाल मेलम्चीको निर्माण प्रक्रियामा उल्लेखनीय भएको चर्चा गरिएको छ।

विभिन्न उपशीर्षक समेटेर तयार पारिएको ६० पेज लामो प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा सबैभन्दा बढी प्रगति भएको देखिएको छ। मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेकथ्रुदेखि हेड बक्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता लिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको समेत चर्चा गरिएको छ।

अन्य धेरै पक्ष छन्, जो सबै समेट्दा महाभारत भाग दुई बन्न पनि सक्छ। यसरी सबै कुरा तथ्यका रूपमा रहँदा रहँदै पनि अध्ययन गर्न सकिने स्रोतहरू पर्याप्त हुँदाहुँदै पनि कृष्णप्रसाद भट्टराईको अधुरो मेलम्ची सपना बिना मगरले पूरा गरिन् भन्न हिच्किचाउनु पर्ला र ?

१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया