Sunday, October 25

कोरोना उपचारमा खटिन नमानेका २५ जना स्वास्थ्यकर्मी पक्राउ !

July 31, 2020 129

वीरगञ्ज । प्रदेश २ कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको छ । केही दिन यता त्यहाँ संक्रमितको मृत्यु हुने क्रम बढिरहेको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरु भने उपचारमा सहभागी हुन मानिरहेका छैनन् भन्ने गुनासो आइरहेको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा खट्न नमानेको भन्दै वीरगञ्ज महानगरपालिकामा २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा बिहिबार साँझ २५ जना स्वास्थ्यकर्मीलाई वीरगञ्ज महानगरपालिका कार्यालय परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोरोना महामारीमा समेत विभिन्न बहाना गरेर काममा खट्न नमानेका २५ जना स्वास्थ्यकर्मीलाई स्थानीय प्रशासनको निर्देशनमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

वीरगञ्जको आइशोलेसन र स्वाब संकलन कार्यका लागि स्वास्थ्यकर्मीको अभाव भएपछि नारायणी अस्पतालले ६० जना स्वास्थ्यकर्मी जिल्ला विपद् व्यवस्थापन केन्द्रसँग मागेको थियो । अस्पतालको आग्रहमा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकालाई साउन १० गते पत्र लेखेर ६० जना स्वासथ्यकर्मी उपलब्ध गराइ दिन निर्देशन दिएको थियो ।

त्यसपछि महानगरपालिकाले साउन ११ गते ३० जना स्वास्थ्यकर्मीको सूची अस्पतालमा पठाएको थियो । सूचीमा ४ जना स्वास्थ्य निरिक्षक , ११ जना सिनियर अहेब , ५ जना अहेब र ४ जना अनमीको नाम थियो ।

तर महानगरले खटाएका कर्मचारीहरु काममा नआएपछि प्रहरी पठाएर उनीहरुलाई नियन्त्रणमा लिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको अभावमा वैकल्पिक आइशोलेसन र स्वाब संकलन कार्य नै प्रभावित भएपछि बाध्य भएर प्रहरी लगाएर नियन्त्रणमा लिनु परेको बताउँदै बस्नेतले अब पनि काममा जान नमाने विभागीय कारबाही हुने बताउनुभयो । महानगरले पठाएको सूचीमा रहेका अरु ५ जनाको पनि प्रहरीले खोजी गरिरहेको छ ।[][]

प्रतिकृया दिनुहोस्