Monday, November 23

घरमा भ्यागुतो आयो भने के हुन्छ ? शुभ कि अशुभ… ?थाहा पाउनुहोस

October 5, 2020 30968

 

प्रमुख पात्र भ्यागुतो भएका लोककथा र बालकथाहरू अनगिन्ती छन्। तर ‘वैज्ञानिक प्रयोगमै आधारित’ भनिएको र व्यापकरूपमा सुन्ने–सुनाइने गरेको एउटा कथा भने अत्यन्त त्रासदमात्रै होइन हामी सबैलाई तर्साउने र बिउँझाउने चरित्रको छ।

धेरैलाई कन्ठस्थ होला यो कथा– म आज फेरि पनि त्यही कथा सम्झँदैछु।एउटा घरको भान्साको पछिल्लो ढोका खुल्लै रहेछ। त्यसकै बाहिरपट्टि ससाना कीराको सिकार गर्दै एउटा भ्यागुतो विचरण गरिरहेको थियो।

आफ्नो सिकारमा केन्द्रित ऊ कहिले चाल मारेर बिस्तारै घिस्रे झैँ गर्थ्यो, कहिले भने मज्जैले उफ्रिन्थ्यो। एउटा कीरालाई पछ्याउँदै जाँदा ऊ भान्साभित्र छिर्योै र कताकताबाट एउटा बडेमानको कराइभित्र खस्यो।

कराइमा आधाभन्दा बढी पानी थियो। गर्मीको बेला, चिसो पानीमा तैरिँदा उसलाई गजब आराम र सुखको अनुभूति भयो। वरिपरिको खतरासँग बेखबर भ्यागुतो आफ्नै सुरमा आराम गरिरहेको थियो। त्यहीबेला घरमालिक भान्सामा पस्यो।

पानी तताउँछु भनेर हेर्दा त कराइमा भ्यागुता पो देख्छ! एकछिन त के गरुँ के गरुँ भयो उसलाई। तर, जिज्ञासु स्वभावको भएकाले उसले चुपचाप भ्यागुताको गतिविधि हेरिरह्यो। भर्खरै अघाउँजी कीराहरूको सिकार गरिसकेको भ्यागुता भने धेरै नचली चिसो पानीमा रमाएर आरामका साथ बसिरह्यो।

भ्यागुतोले के गर्दो रहेछ भनेर हेरिरहेको मानिसको धैर्य जब कम हुँदै गयो, उसलाई एउटा कौतुहलले कुत्कुत्याउन थाल्यो। कराइको पानीलाई बिस्तारै तताउन थाल्यो भने भ्यागुतो के गर्दो होला भनेर! अनि अत्यन्त सानो आँचमा बिस्तारै त्यो कराइ तताउन थाल्यो।

पानी यति बिस्तारै तात्यो, कि त्यो तापलाई भ्यागुतोले अनुभूत नै गर्न सकेन। बिस्तारै तातिरहेको पानीको तापलाई उसले सहजै स्वीकार गर्योय। आनन्दै मानेर बसिरह्यो। उफ्रिनुपर्ने, कराइबाट निस्कनुपर्ने उसले कुनै आवश्यकता नै देखेन। घन्टौँ लगाएर पानी बिस्तारैबिस्तारै तात्दै गयो, बेखबर भ्यागुताको शरीर पनि बिस्तारै पाक्दै गयो। अनि…!!! आखिरमा भ्यागुतो मर्यो्।

भनिन्छ, उन्नाइसौँ शताब्दीमा विभिन्न जिज्ञासुले प्रयोगशालामै यो प्रयोग गरेर हेरेका थिए रे। छिटोछिटो पानी तात्दा भ्यागुता उफ्रन्थ्यो रे। ढिलो तात्दा चुपचाप मर्थ्यो रे। अहिलेका वैज्ञानिकहरू त्यो ‘प्रयोग’मा धेरै खोट देखाउँछन्।

तर, ती प्रयोगहरूमा कति वैज्ञानिकता वा वस्तुपरकता थियो, त्यसको लेखाजोखा गर्नु अहिले आवश्यक छैन। सांकेतिकरूपमा यो कथाले जे भन्न खोजेको छ, त्यो भने स्पष्ट छ।

यसलाई विभिन्न शैलीमा, आआफ्ना आवश्यकता, सन्दर्भअनुसार आआफ्नै ध्येयका निम्ति वातावरणविद्, अधिकारकर्मी, थरिथरिका अभियन्ता, राजनीतिकर्मी र व्यापारीसमेतले सुनाउने गरेका छन्। यति नै बेला मेरै मनमा आइरहेको सन्दर्भ भने हामी नेपालीको राष्ट्रियताको हो।

बच्चा बेलादेखि हामीले सुन्दै, पढ्दै आएको कुरा हो– बेलायती साम्राज्यको तीव्र बिस्तार भइरहेको बेलामा पनि हाम्रो देश स्वतन्त्र नै रहिरह्यो, कहिल्यै कसैको उपनिवेश बन्नु परेन भनेर।

हामीले यसैमा गर्व गर्न सिक्यौँ। गोरखाली वीरताका कुरा सुन्याँै, पढ्यौँ। त्यसैमा विश्वास गर्यौँु, दंग पर्यौँर, त्यही सुनाउँदै हिँड्यौँ पनि। हामीजस्तै ‘स्वतन्त्र’ भएर बाँचेको अर्को देश थियो अफगानिस्तान।

त्यो देशको अहिले के हालत छ, हामी सबैलाई थाहा भएको कुरा हो। हाम्रो पनि त्यही हदको बेहाल भइसकेको अझै नदेखिएला। तर, यथार्थ त हाम्रो पनि सुन्दर भने पक्कै छैन।

‘हामी कहिल्यै उपनिवेश भएनौँ’, ‘हामी वीर हौँ’, ‘हाम्रो देश स्विजरल्यान्डजस्तो सुन्दर छ’, आदिलगायतका आत्मश्लाघामा रत भएका हामी करिबकरिब कराइमा पसेको त्यही भ्यागुतोजस्ता भएका छौँ। छिमेकीले निरन्तर ‘नरमीका’ साथ हामीलाई हेपी नै रहेको छ, झन्झन् अधीनस्थ बनाइरहेको छ, हामी झन्झन् अभ्यस्त भइरहेका छौँ।

‘यस्तो त भइरहन्छ नि’ भनेर हामी चित्त बुझाउँछौँ। कुनैबेला दिनभरि उताकालाई सराप्छन् हाम्रा नेता, अनि बेलुकी तिनैलाई दण्डवत् गर्दै भिक्षा माग्छन्! कसैले सोधिहालेछ भने भन्छन्, ‘यस्तै त हो, हामी उनिहरूमाथि नै निर्भर छौँ।’

आफ्नो घरभित्र एकापसमा सम्मान र स्नेह कायम राख्न सक्दैनौँ अनि घरको झगडा मिलाइदेऊ भनेर त्यही छिमेकीलाई नै गुहार्छौं! के हामी पनि कराइभित्रको पानीमा छौँ र त्यो पानी दशकौँदेखि बिस्तारैबिस्तारै तातिरहेको छ? के हामी पनि त्यसरी नै बिस्तारैबिस्तारै पाक्दै गइरहेका रहेछौँ– बेखबर र मृत्युन्मुख भएर?

सुन्न र स्वीकार गर्न जति गाह्रो लागे पनि केही अत्यन्त तीतो यथार्थलाई त समयले नै लगातार उजागर गरिदिइरहेको छ। राज्यसंयन्त्रमा जहाँ चाह्यो, जुन स्तरमा चाह्यो, जसलाई चाह्यो, जतिबेला चाह्यो छिमेकीले आफूअनुकूल पात्रलाई पदासीन गराउन सक्ने रहेछ।

हाम्रो कर्मचारीतन्त्रदेखि लिएर राज्यसंयन्त्रका अझ महŒवपूर्ण निकायहरूसमेत भ्रष्ट, अकर्मण्य, पुरातन, असुन्दर त देखिन्थे नै, यथार्थमा स्वतन्त्र पनि रहेनछन्– सबैसबै पेच, किला, छेस्किनी, कब्जा छिमेकीकै नियन्त्रणमा रहेछन्।

आफ्नै मूर्खता र कुसंस्कारले ग्रस्त हामी आफ्नै सहोदर परिवारजनलाई हेप्ने, दुःख दिने, सताउने गर्दा रहेछौँ र यो मूर्खताले जन्माएको आफ्नै परिवारभित्र निरन्तर बढिरहेको असन्तुष्टि, आक्रोश, आपसी द्वेष आदिको रापबाट बेखबर रहेछौँ!

यदाकदा केही दिएजस्तो गर्दो रहेछ ऊ र हामी उसले कतिबेला अलिकति केही दिन्छ भनेर पर्खिबस्दा रहेछौँ आफ्नो खेतिपाती छोडेर। अनि त्यो छिमेकी भने मुसुमुसु हाँस्दै यी सबैमा मसला थप्दै, आगो बाल्दै गरिरहँदो रहेछ!

बेहोशीमै बिस्तारै ‘कराइमा पाकिरहेका’जस्ता हामीलाई नाकाबन्दीका बेलामा मात्र ‘आत्था, पोल्यो’ भन्ने होस आयो। फेरि यति छिट्टै त्यही ‘आत्था’लाई समेत बिर्सिन थालिसक्यौँ। र, सम्भवतः यतिबेला छिमेकी कराइलाई पूरै छोपिदिन कुनै गह्रौँ ढकनी खोज्दैछ।

तर, भ्यागुतोको यही कथाको अर्को पाटो पनि छ। यो कथाको तथ्यतालाई चुनौती दिनेहरू पनि छन्। भ्यागुताको गिदी नै झिकेको रहेनछ भने र निस्कने सबै बाटो बन्द छैन भने, पानी तात्दै जाँदा आफूलाई असजिलो हुँदाहुँदै पनि भ्यागुता कराइमा चुपचाप बस्दैन।

भ्यागुताको समाज हुन्छ कि हुँदैन, हुन्छ भने कस्तो हुन्छ, मलाई थाहा छैन। त्यसैले ‘भाग मिल्खा, भाग’ भने झैँ गरी अरु भ्यागुताहरूले ‘भाग साथी, भाग’ भनेर कराउने चलन छ कि छैन, त्यो त थाहा छैन।

मानिसले ‘उफ्री भ्यागुतो, उफ्री’ भनेछन् भने पनि उसले बुझ्छ कि बुझ्दैन, त्यो पनि थाहा छैन। तर, उसको शरीरले नै उसलाई ढाँट्ने सम्भावना कमै होला र यदि जीजीविषा सबै प्राणीको नैसर्गिक गुण हो भने, पानी तात्दा भ्यागुतो पनि भाग्नैपर्ने हो।

हामी त मान्छे हौं। कथामा कराइभित्रको भ्यागुतो झैँ यथार्थबाट बेखबर हुने ‘सुविधा’ हामीलाई छैन। यो देशलाई राष्ट्रका रूपमा बाँधिराख्ने सूत्रहरू केके बाँकी छन्, केके कुहिइसके र के नयाँ सृजना गर्न सक्छौँ?

यी सबका बारेमा गम्भीरतापूर्वक चिन्तन गर्ने र काममा जुट्ने नगरे यसरी हावामा झुन्डिएर कुनै पनि राष्ट्र लामो समय टिक्न सक्दैन। सामाजिक न्याय र लोकतन्त्रसहितको समृद्धि नै सम्भवतः देशलाई बलियो राष्ट्रका रूपमा बाँध्न सक्ने तत्व हो।

तर, सामाजिक न्यायको लोकतन्त्रको अर्थ नागरिक जीवनमा अनुदित हुँदा के हुन्छ? आफ्नो राष्ट्रिय स्वाधीनता बलियो बनाउँदै समृद्धि प्राप्त गर्ने उपायहरू केके हुन सक्छन्? परम्परागत पार्टीहरूको दिशाहीनता, नैतिकताको स्खलन,

हरेक दलभित्रभित्रै क्यान्सर झैँ हुर्किरहेको भ्रष्टाचार र अनेक रोगब्याधिले गर्दा पुरानै ढर्राले चलेका कुनै पनि पार्टीले यी प्रश्नहरूको उत्तर दिन सकिरहेका छैनन्।

जब धेरै कुरा ठीक छैन तब ‘सब ठीक छ’ भनेर बस्दा हात लाग्ने भनेको मृत्युमात्र हुन्छ। बिरामी छु भनेर पटक्कै स्वीकार नगर्ने रोगी आफ्नो रोगबाट कहिल्यै मुक्त हुन सक्दैन। मानिस हौँ हामी एक्काइसौँ शताब्दीका, कराइको भ्यागुतो झैँ बिस्तारै पाकेर मर्नुपर्ने कुनै बाध्यता छैन।

प्रतिकृया दिनुहोस्