सोमबार ०७ आषाढ २०७८

काठमाडौँ। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताएका छन्। प्रधान सेनापति थापाले संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको बताएका हुन्।

थापाले भने ‘हामी अहिलेको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ।’

राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेना सहित अन्य सुरक्षा निकायले पनि ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रधानसेनापति थापाले नेपाली सेनाको दायित्व र जिम्मेवारी संविधानले निर्धारण गरेकोले सोही अनुसार अघि बढ्ने उल्लेख गरे । उनले सेना सँधै प्रजातन्त्र, नेपाली जनता र संविधानको पक्षमा रहेको बताए।

थापाले शान्तिकालिन अवस्थामा नेपाली सेना सीमामा नखटिने स्पष्ट पारेका छन्। थापाले शान्तिकालिन अवस्थामा सीमामा सशस्त्र प्रहरी खटिने भएकोले सेना सीमामा नखटिने प्रस्टाएका हुन्।

आइतबार जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भने, ‘शान्तिकालिन अवस्थामा सेना सीमामा तैनाथ हुँदैन। सीमामा जाने हाम्रो अधिकार हुँदैन। त्यो कार्यका लागि सरकारले सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ। सीमा क्षेत्रमा हामी सबै निकायसँग समन्वय गरेर काम गर्छौ। तर सेना सिमामा तैनाथ हुँदैन। दुई देश विचमा द्वन्द्व हुदा मात्रै सिमामा सेना बस्छ।

थापाले सीमा सर्वे तथा अनुगमन निर्देशनालयको पनि औपचारिक रुपमा स्थापना भइसकेको जानकारी दिए।

थापाले सरकारसँगको वार्तापछि विप्लव समूह शान्तिपूर्ण मूल राजनीतिमा आउने संकेत रहेको उल्लेख गरे। नेपाली सेनालाई जहिले पनि सुरक्षा चुनौति आउने बताउँदै समाजमा कसैले द्वन्द फैलाउन खोज्छ भने अन्य सुरक्षा निकाय, मिडिया र आम नागरिकको सहयोगमा त्यसलाई परास्त गर्न सकिने बताए। उनले विप्लव समूह भविष्यमा द्वन्द्वमा नजाने विश्वास व्यक्त गरे।’

थापाले भने, ‘देशको सुरक्षा शक्तिलाई शान्तिकालिन र द्वन्द्वकालिन चुनौती आइरहन्छन्। विप्लव समूह सरकारसँग वार्ता गरेर सम्झौतामा आएकाले मुल धारको राजनीतिमा आउने अपेक्षा छ।’

प्रधानसेनापति थापाले फास्ट ट्र्याक निर्माणको काम तीन वर्षमा सकाउने सोच रहेको बताएका छन्। उनले २०८१ सालमा निर्माण कार्य सकाउने सोच रहेको बताए।

विभिन्न मन्त्रालयबाट पाउनुपर्ने आवश्यक बजेट समयमै प्राप्त भएमा कुनै समस्या बिना नै फास्ट ट्र्याकको निर्माण कार्य सम्पन्न हुने उनले बताए।

‘फास्ट ट्र्याक २०८१ मै सकिन्छ भन्ने हाम्रो सोच छ। बजेट विनियोजन भयो भने काम सकिन्छ,’ उनले भने, ‘विभिन्न मन्त्रालयबाट बजेट प्राप्त भयो भने काम सकिन्छ। कोभिडजस्ता अरू समस्या आयो भने केही ढिलो हुनसक्छ।’

उनले अहिले सुरूङ निर्माण कार्यको काम अघि बढेको जानकारी दिए। सुरूङ बन्दासम्ममा अरू काम पनि सकिने उनले बताए।

१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया