सोमबार ०७ आषाढ २०७८

अभिनेता राजेश हमाल मंगलवारबाट ५७ बर्षमा प्रवेश गरेका छन् । २०२१ सालमा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनलाई सामाजिक सञ्जालमा ‘सुपरस्टार र महानायक’ को रुपमा सम्बोधन गर्दै जन्मदिनको शुभकामना दिनेको ओहिरो लागेको छ । कोरोनाका कारण उनले यसपटकको जन्मदिन परिवारसँग मनाउँदैछन् ।

२०४८ सालमा चलचित्र ‘युगदेखि युगसम्म’ बाट अभिनेताको रुपमा डेब्यू गरेका हमालले यसपछि करिअर फर्केर हेर्नु परेन । उनी अभिनीत ‘हामी तीन भाइ’, ‘देउता’, ‘अल्लारे’, ‘भाउजु’, ‘अजम्बरी नाता’, ‘पालेदाई’, ‘आशीर्वाद’ लगायत दर्जनौं चलचित्र हिट छन् । उनका चलचित्रले धेरै निर्माता धनी बनाएका छन् । एक समय उनको टाउको पोस्टरमा राखे मात्रै पनि चलचित्र ब्लकबस्टर हुन्थे ।

तर, करिअरको उत्कर्षमा रहँदा उनले संख्यात्मक अभिनयमा जोड दिएको आरोप अझै पनि लाग्ने गरेको छ । किनकि, उनले अभिनय गरेका चलचित्रमध्ये सम्झनलायक थोरै मात्र छन् । उनलाई भने आफू अभिनीत ‘बसन्ती’ र ‘देवता’ चलचित्र मनपर्छ । तर, रोचक कुरा के छ भने नेपाली चलचित्रमा उनका मनपर्ने अभिनेत्री र निर्देशक कोही छैनन् । यो कुरा उनी आफैंले बताएका हुन् ।

‘बौद्धिक नायक’ को रुपमा चिनिने उनले कक्षा ८ सम्मको शिक्षा काठमाडौंको सेन्ट जेभियर स्कूलबाट, विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् । सन् १९८६ मा काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा दुनियाँमा प्रवेश गरेका हमालले कुनै समय एक वर्षमा १० देखि १२ वटासम्म चलचित्रमा अभिनय गर्ने गर्दथे ।

पछिल्ला दुई चलचित्र ‘बागमती र सकुन्तला’ को असफलतापछि चार वर्ष चलचित्रमा काम नगरेका उनी चाँडै चलचित्र ‘सत्यम्’ बाट कमब्याक गर्ने तयारीमा छन् । उनले निषेधाज्ञाभन्दा अगाडि नै यो चलचित्र साइन गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु नभएको भए चलचित्रको छायांकन पूरा भइसकेको हुने थियो । यसमा उनीसँगै पल शाह र अनुपविक्रम शाहीको पनि अभिनय रहनेछ ।

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया