Thursday, January 21

प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशीको बहिरंग विभाग अनिश्चितकालका लागि बन्द

July 30, 2020 158

विराटनगर  : विराटनगरको कोशी अस्पतालमा कार्यरत थप दुईजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालको ओपीडी (बहिरंग) विभागको इन्चार्ज रहेकी नर्सिङ स्टाफ र नाक, कान तथा घाँटी (ईएनटी) रोग विभागमा कार्यरत पारमेडिक्समा बिहीबार संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वाब परीक्षण कोशी अस्पतालकै प्रयोगशालामा गरिएको थियो । थप दुईजना चिकित्सकलाई कोरोना संक्रमण भएपछि प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्थाका रुपमा सेवा दिइरहेको कोशीको बहिरंग विभाग अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले अर्को सूचना नभएसम्मका लागि ओपीडी सेवा बन्द गरिएको जानकारी दिए । ‘ओपीडी इन्चार्ज र ईएनटीका पारामेडिक्समा कोरोना देखियो,’ उनले भने, ‘त्यही भएर ओपीडी सेवा हाललाई पूर्ण रुपमा बन्द गर्नु पर्ने अवस्था आयो ।’ कन्ट्रयाक ट्रेसिङ गर्न, सेनिटाइज गर्न र अन्य स्वास्थ्यकर्मीको कोरोना जाँच गर्नलाई सूचना जारी गरेर नै सेवा बन्द गरिएको उनको भनाइ छ ।

अस्पताललाई सुरक्षित बनाउन र अरुमा संक्रमण फैलन नदिन अहिले औषधि छिट्ने काम सुरु गरिएको दासले बताए । सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गरिसकेपछि मात्रै अस्पतालको बन्द गरिएको सेवा सुचारु हुने जानकारी उनले दिए । अस्पतालमा दैनिक एक हजार दुई सय बढी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेका थिए ।

दासले ओपीडीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गर्ने काम पनि भइरहेको जनाए । अस्पतालमा कार्यरत रहेकामा कोरोना पोजिटिभ देखिएपछि धमाधम परीक्षणका लागि स्वाब नमुना संकलन गर्ने काम भइरहेको हो ।

यस अघि अस्पतालमा कार्यरत एक चिकित्सक र एक जना नर्सिङ स्टाफमा कोरोना देखिएको थियो । ती चिकित्सकको कन्ट्रयाक ट्रेसिङ गर्दा ओपीडी इन्चार्ज र पारामेडिक्समा पनि कोरोना देखिएको दासले बताए । हालसम्म अस्पतालमा कार्यरत रहेका चार जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

पछिल्लो समय संक्रमित भएका दुई जनाको ट्राभल हिस्ट्री नै नभएको पाइएपछि अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ । अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीकाअनुसार अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरेर पाँच सय बढी कार्यरत छन् । शंका लागेका कर्मचारी र स्वास्थ्यकर्मी अहिले क्वारेन्टाइनमा रहेको जानकारी उनले दिए ।

अस्पतालका माइक्रोबायोलोजिष्ट प्रनव यादवले पछिल्लो समय थ्रोट स्वाब परीक्षणका लागि आउनेहरुको संख्या बढेर गएको बताए । अस्पतालमा एक पटकमा ७२ वटा रिपोर्ट दिने क्षमताको पीसीआर मेसिन छ । तर दैनिक चार सय बढी परीक्षणका लागि आउने गरेको जानकारी यादवले दिए । अस्पतालमा विराटनगर महानगरपालिकाब तथा बाहिरबाट संकलन गरेर ल्याइएको नमुनाको परीक्षण हुने र सर्वसाधारण आफै पनि शंका लागेर परीक्षणका लागि आउने गरेको उनको भनाइ छ ।

Source Annapurna post

प्रतिकृया दिनुहोस्