शुक्रबार २२ साउन २०७८

जब शिवरात्रि नजिकिन्छ, गुगलमा शिव ताण्डव खोज्नेहरू र युट्युबमा ताण्डव नृत्य हेर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ । युट्युबमा ताण्डव भनेर खोज्दा पाइने एउटा नृत्य २५ करोडभन्दा बढी पटक हेरिएको देखिन्छ । अर्को एउटा ताण्डव साढे नौ करोडभन्दा बढी पटक हेरिएको छ । अन्य कैयौँ ताण्डव नृत्य पनि करोडौँ पटक हेरिएको छ ।

लय, शब्द र शैली फरक भएका तर डमरुको डमडम आवाज र ऊर्जायुक्त थरी-थरीका ताण्डव नृत्य युट्युबमा टन्नै छन् । धर्मशास्त्रका जानकारहरू ताण्डवलाई भगवान् शिवसँग जोड्छन् । यसै कारण शिवरात्रि नजिकिएका बेला ताण्डव नृत्य खोज्नेहरूको सङ्ख्या निकै बढ्ने गरेको छ ।

ताण्डव के हो ?
धर्मशास्त्रका जानकार तथा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति विदुर पौडेल भन्छन्, “शिव ताण्डवलाई ब्रह्माण्डको सृष्टि मानिएको छ । प्रोटोन, न्युटन जस्ता भौतिक पदार्थहरूको क्रिया-प्रतिक्रिया नै ताण्डव हो ।” धर्मशास्त्रका अनुसार शिव ताण्डव भनेको शिवले गर्ने नृत्य हो ।

प्राचीन कथ्य उल्लेख गर्दै पौडेल भन्छन्, “पाणिनीले शिवको तपस्या गर्दा गर्दा पाणिनीलाई शिव ताण्डवमार्फत व्याकरणको सिद्धि प्राप्त भएको थियो ।” उनी भन्छन्, “शिवजीले बोल्नुपर्दैन । डमडम, डमडम, डमडम गरेपछि कसैलाई ज्ञान प्राप्त हुन्छ, कसैलाई भक्ति प्राप्त हुन्छ ।”

पौडेल भन्छन्, “अनन्तकालदेखि भएको सृष्टिलाई ताण्डवले बताउँछ । शिवको नाच भनेको त्यही हो ।” पौडेलका अनुसार तन्त्र शास्त्रहरूमा ताण्डवको बृहत् वर्णन छ । अन्य धर्मशास्त्रमा पनि ताण्डवको वर्णन छ ।

कस-कसले गर्छन् ताण्डव ?
भगवान् शिवले हरेक कुरा सृष्टि गर्दा ताण्डव गर्छन् भनिने पौडेलले बताए । भगवान् शिवलाई खुसी राख्न चाहनेले पनि ताण्डव गर्ने गरेको देखिन्छ । महान् शिवभक्त भनिने ‘राक्षसराज’ रावणले रचना गरेको शिवताण्डवस्तोत्रम्‌को चर्चा निकै हुने गरेको पौडेलले बताए ।

धर्मशास्त्रका जानकारहरू शिव ताण्डव नृत्यमा र पार्वती लाक्षामा पारङ्गत भएको र उनीहरू नै सबभन्दा राम्रा नर्तक रहेको मान्छन् । पौडेलका अनुसार धर्मशास्त्रको व्याख्या एकातिर छ, आधुनिक समयमा ताण्डवलाई शास्त्रीय नृत्यका रूपमा सिकाउने गरिएको छ ।

ताण्डव नृत्य कसरी गर्ने ?
शास्त्रीय नृत्यका जानकार सुरेश मिश्र आफैँ ताण्डव गर्छन् र अरूलाई सिकाउँछन् । नृत्य, गायन र वादनमा आफ्नो परिवार दशौँ पुस्तादेखि संलग्न रहेको बताउने मिश्रले बच्चैदेखि बाबुबाजेबाट ताण्डव सिकेको बताउँछन् ।

भारतमा नृत्य विषयमा एमए गरेका मिश्र शास्त्रीय नृत्यमा थरी-थरीका ताण्डव रहेको र आफूले तिनैका आधारमा सिकाउने गरेको बताउँछन् । उनका अनुसार वीर ताण्डव, रौद्र ताण्डव, शृङ्गार ताण्डव, राक्षसले गर्ने ताण्डव, क्रोध ताण्डव, संहार ताण्डव र उमा ताण्डव गर्ने गरिन्छ ।

ताण्डव गर्दा आफ्नो सृजनात्मक अभिव्यक्तिमार्फत भावभङ्गीमाले कुरा बुझाउन सक्नुपर्ने मिश्रको भनाइ छ । तर धर्मशास्त्रका कतिपय जानकार शिव ताण्डव मात्र ताण्डव रहेको मान्छन् ।

विदुर पौडेल भन्छन्, “ब्रह्मा र विष्णुले पनि बेलाबखत नाच्छन् तर तिनलाई ताण्डव भनिँदैन । शिवजीको ताण्डव मात्र विशुद्ध ताण्डव हो । शिवजीले गर्ने सृजना हो ताण्डव ।”

ताण्डव बारे फरक-फरक विश्लेषण र धारणामा कोही सहमत होलान्, कोही नहोलान् तर पद्मकन्या क्याम्पसमा नृत्य पढाएर हालै अवकाश पाएका मिश्रको एउटा भनाइसँग सम्भवतः सबै सहमत हुन सक्छन्- “ताण्डव अरूभन्दा फरक छ । ताण्डव गर्न विशेष ऊर्जा चाहिन्छ ।”

news18

२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया