Thursday, December 3

अशक्त छोराछोरीलाई सडकमा फा’लेर सरकारी सुविधा अभिभावकको गोजीमा

July 29, 2020 193

काठमाडौं । अभिभावकले नै आफ्ना सन्तानलाई सडकमा अलपत्र छोडिदिने गरेको घटना बढ्न थालेका छन् । लकडाउनका समयमा मात्र हेटौडामा त्यस्ता ४ घटना भएको छ । शारीरिक अशक्तता भएका आफ्नै सन्तानलाई सडकमा बेवारिस छाड्ने प्रवृत्ति बढेको छ । आफूलाई जन्म दिएकाहरुबाट नै यस्ता कार्य भएको देखिँदा अभिभावकको मनबाट मानवता हराउँदै गएको यस्ता घटनाले देखाउँछ ।आफ्नै बाबुआमाले आफ्ना शारीरिक अशक्तता भएका सन्तानलाई सडकमा ल्याएर छाडिदिने गरेका छन् ।

हेटौंडा–९ स्थित मानवसेवा आश्रममा त्यस्ता अशक्त बालबालिका आश्रित छन्, जसको अनुहारको भाव हेर्दा प्रश्न उठ्छ–उनीहरुका अभिभावक त्यसो गर्न बाध्य भए वा जब’र्ज’स्ती सडकमा हु’त्याइए । मानवसेवा आश्रमकी अभियन्ता उमा भण्डारीले आफ्ना सन्तानको अशक्तताको सरकारी कार्ड बनाउने र त्यसबाट आएको भत्ता (पैसा) बाबुआमाले खर्च गर्ने तर छोराछोरीलाई छाडिदिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो–आश्रमका अभियन्ताले परिवार पत्ता लगाएर पुनर्मिलन गराउन खोज्दा पनि परिवारले लैजान मानेका छैनन् । उनीहरुलाई पटकपटक पुनर्मिलन गराउन खोज्दा पनि हामी राख्दैनौं भनी अभिभावकले अस्वीकार गरेको उहाँले स्मरण गर्नुभयो ।बाबुआमाले सडकमा वेबारिस छाडेका ७ बालबालिका आश्रममा आश्रित रहेको भण्डारीले बताउनुभयो ।

ती सबै हेटौंडा बजारका सडकमा छाडिएका हुन् । एक बालक त आश्रमअगाडि नै वेबारिस अबस्थामा भेटिए । आश्रमले आश्रय देला भन्ने आशमा अभिभावकले नै त्यसो गरेको हुनसक्ने उहाँको आशंका छ । मकवानपुरगढी गाउँपालिका, हेटौंडा–१८ र ९ नम्बर वडा र चितवनका बाबुआमाले आफ्ना सन्तानलाई अशक्त भएकै कारण वेबारिस छाडेको आश्रमको तथ्यांक छ ।

मानसिक सन्तुलन गुमाएका, बोल्न नसक्ने, हातखुट्टा नभएका बालबालिकालाई बाबुआमाले नै वेबारिस छाडेका हुन् । १ वर्षदेखि परिवारले नै यस्तो गरेको पाइएको भण्डारीको अनुभव छ । बन्दाबन्दीको अवधिमा यस्ता ४ वटा घटना आएको उहाँले बताउनुभयो । बन्दाबन्दीले चरम आर्थिक अभावको प्रभाव पनि यसमा परेको पाइएको छ ।

आश्रममा महिनाको पहिलो साता नसा तथा मानसिक रोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । आश्रममा २ नर्स छन् । आश्रम २०६९ भदौ १३ गते स्थापना भएको हो । ७ वटै प्रदेशमा १९ वटा स्थानमा आश्रम रहेको र बागमती प्रदेशमा ६ वटा आश्रम छन् । नेपाल समाचारपत्रका लागि रोशन पराजुलीले हेटौंडावाट लेखेको समाचार साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्