Monday, November 30

सिन्धुली जिल्लाकै सर्वोकृष्ट प्रमुख प्रहरी निरीक्षक शान्ता वाइबालाई छनौट

September 24, 2020 194

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भदौ महिनाको सर्बोत्कृष्ट प्रहरी कर्मचारीमा इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक शान्ता वाइबालाई छनौट गरेको छ ।

बिप्लब कार्यकर्तालाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय खुर्कोटबाट वाइबाको कमान्डमा रहेको प्रहरी टोलीलाई सफलता मिलेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कार्य सम्पादनको आधारमा प्रहरी निरीक्षक वाइबालाई भदौ महिनाको उत्कृष्ट कर्मचारी छानेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले भने, ‘आन्तरिक कार्यसम्पादन मूल्यांकनमा उहाँका काम उत्कृष्ट पाइएकाले प्रशंसा गर्दै त्यसको निरन्तरताका लागि सम्मान गर्न लागिएको हो ।’

समग्र सिन्धुली जिल्लाभित्र सर्बोत्कृष्ट प्रहरी कर्मचारी छनौट भएकी प्रहरी निरीक्षक वाइबाले आफू उत्कृष्ट कर्मचारी परेको थाहा पाउदा धेरै खुशी लागेको बताइन ।

नागरिक खबरलाई प्रतिक्रिया दिँदै उनले भनिन, ‘आउँदा दिनमा काम गर्दा अझै राम्रो गर्ने प्रयास गर्नेछु । अझै राम्रो काम गर्न प्रयास गर्ने हो ।’

वाइबाको कमान्डमा रहेको टोलीले गएको भदौ १४ गते सिन्धुलीको दुधौली नगरपालिका १३ मा पर्ने ओडारे भन्ने स्थानबाट नेकपा बिप्लबका ७ जना कार्यकर्तालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय सिन्धुलीलाई बुझाएका थिए ।

सो घटनामा प्रहरी निरीक्षक वाइबाले फायर समेत खोली बिप्लब कार्यकर्तालाई भाग्न समेत नदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सो घटनामा बिप्लब कार्यक्रताको साथबाट ४ थान सुतली बम, ८ वटा जिआइ पाइप समेत बरामद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वाइबालाई सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको साथै अरु प्रहरीलाई समेत प्रात्साहन गर्न सर्वोत्कृष्ट कर्मचारी छनौट गरेको जनाएको छ ।

प्रहरी निरीक्षक वाइवाले कोरोना प्रकोपले लकडाउन हुँदा पैदलयात्रीको उद्दार गरेको भनेर धेरैले प्रशंसा गरेका थिए । उनको सक्रियताले राष्ट्रिय महत्वका साथ सञ्चार माध्यमले कभरेज गरेका थिए ।

प्रदेश प्रहरीले आफू मातहतका जिल्लामा पर्ने प्रहरी सङ्गठनका कर्मचारीलाई प्रोत्साहन होस भनेर साउन महिनादेखि यस्तो सम्मान गर्ने नीति अबलम्बन गरेको छ ।

प्रदेश प्रहरीले केही दिन पहिला वाइवालाइ सम्मान गरिसकेको बुझिएको छ । यस्तैमा सिन्धुली प्रहरीले पनि प्रहरी निरीक्षक वाइबालाई सर्बोकृष्ट छनौट गरेको जनाएको छ ।

वाइबालाई एक कार्यक्रम गरेर सम्मान गरिने नागरिक खबरलाई जानकारी दियो । यसअघि पनि खुर्कोटमै कार्यरत अस्थायी ट्राफिक प्रहरी पोस्ट खुर्कोटका ट्राफिक प्रहरी हवल्दार राम प्रसाद थपलियाले स्टेटकै सर्बोकृस्ट ट्राफिक प्रहरी पुरस्कार पाएका थिए ।

nagarik khabar

प्रतिकृया दिनुहोस्