Monday, November 30

हप्तामा २ दिन बिदा दिन अध्ययन समिति बन्यो !

September 24, 2020 141

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ। मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्च स्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ। जस मा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताब तयार गर्ने भएको हो ।

त्यस्तै बैठकले पशुपति मन्दिर लुिम्बनी, संग्राहालय खोल्न सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सिसिएमसी) मा पेश गर्ने निर्णय गरेको छ। बैठकले, बगलादेश, ईन्डोनेसिया, रसिया, कोरिया फिनल्याणसँग भएको हवाई सम्झौताहरु असोज भित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय समेत गरेको छ । बैठकमा मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन पनि दिए ।

 

प्रतिकृया दिनुहोस्