Thursday, November 26

पाखे हैन एकपाखे भनेको हो : प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार, सुर्य थापा

September 23, 2020 34

यतिबेलाको हट टपिक बनेको छ एउटा नाम ’कुलमान घिसिङ’ । २०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी भएर आएपछि जे जति गरे त्यसले नै कुलमानलाई अहिलेको हट टपिक बनायो ।

गत भदौ ३० गते कार्यकाल सकिएर बिदा भएका कुलमान पुनः नियुक्त होलान् की न होलान् भन्ने विषय अझै उत्तिकै चर्चामा छ । सर्वसाधारण कुलमानलाई नै पुनः विद्युत् प्राधिकरणको निर्देशक हेर्न चाहन्छन् । तर, सरकार भने कानुनी प्रश्न उठ्न सक्ने भन्दै कुलमानको पुनर्नियुक्ति गर्न नमिल्ने पक्षमा देखिएको छ ।

यसै गरी कुलमानको पुनर्नियुक्तिको विषयमा धारणा राख्दा २ पटक विवादमा परेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार, सुर्य थापा । एक हप्ता अगाडी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पुनर्नियुक्ति आवश्यक रहेको भन्ने ट्वीटमा गरेको थापाले गरेको रि–ट्वीटले उनलाई विवादमा तानेको थियो । अहिले टेलिभिजनमा दिएको अन्तर्वार्ताले विवादमा तानेको छ ।

मंगलबार साँझ ऋषि धमलाको कार्यक्रममा कुलमान घिसिङको पुनर्नियुक्ति नहुने भन्दै उनले मत राखेका थिए । धमलाले सर्वसाधारण सडकमा कुलमानको पक्षमा देखिएको भन्दै सोधेको प्रश्नमा उनले सर्वसाधारणलाई ’एकपाखे’को संज्ञा दिँदै ’कुलमानको समर्थनमा उफ्रिनेहरू पाखे हुन्’ भने ।

सबैतिर थापाको यो अभिव्यक्ति विवादमा आएपछि उनले ट्वीट गरेका छन् । उनले एकपाखातिरको कुरा व्यक्तिलाई मात्रै ’एकपाखे’ भनेको भन्दै ट्वीट गरे ।

’मैले “पाखे“ भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ एकपाखातिरको कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु । त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु ।’ उनले ट्वीटरमा लेखेका छन् ।

कुलमान पुनः नियुक्तिको माग गर्नेहरुका विरुद्ध उनी पछिल्लो पटक असन्तुष्ट देखिएका छन् । र, कुलमानको नियुक्ति गर्नेहरु उनका हरेक अभिव्यक्तिमा खोट निकाल्न उद्यत छन् ।

प्रतिकृया दिनुहोस्