Saturday, October 24

दुई सय ५० वर्षको इतिहास तानसेनमा भगवती विजयजात्रा नहुने

July 29, 2020 165

तानसेन : कोरोना महामारी नभएको भए यो समय पाल्पाको तानसेन जात्रामय हुन्थ्यो। तानसेनभित्र रहेका विभिन्न मन्दिर जात्रामय हुन्थे। पुजारीहरू पूजा व्यवस्थित गराउनेतर्फ लागेका हुन्थे। मन्दिर व्यवस्थापन समितिहरू भव्य रूपमा रथयात्राको तयारीमा जुटेका देखिन्थे। कुमालेहरू रथ बोक्ने तयारीमा जुटेका हुन्थे। कोरोनाले दुई सय वर्षदेखि निरन्तर चलिरहेको संस्कृतिमा धक्का दिएको छ।

अहिले तानसेन बजार सुनसान छ। मन्दिरहरू सुनसान छन्। मन्दिरहरूमा भक्तजनसमेत भगवान्को दर्शन गर्न गएका छैनन्। मन्दिरमा पुजारीले गर्ने नित्य पूजाबाहेक केही हुन सकेको छैन। मन्दिरमा भक्तजनको आवतजावत नभएकाल वरिपरिको सरफाइमा कमी आएको छ। मन्दिर वरिपरि लेउ लागेको छ। कुनै गाह्रोसारो पर्‍यो भने भगवान्का मन्दिर पुग्ने मानिसको प्रवृत्ति फेरिएको छ। सबै कुराको दुःख बेसाउने थलो आस्थाको केन्द्रका रूपमा रहेका मन्दिरमा समेत भक्तजन जान डराइरहेका छन्।

कोरोना संक्रमणको जोखिमका कारण तानसेनको दुई सय ५० वर्षको इतिहास रोकिएको छ। तानसेनमा सञ्चालन हुने एकमहिने जात्रा दुई सय वर्षको इतिहासमा पहिलो पटक रोकिएको छ। नेवारी समुदायमा प्रचलित गठेमंगल यसपालि तानसेनमा सञ्चालन भएन। सांस्कृतिक सहरका रूपमा परिचित तानसेनमा यसपटक श्रीनगर गणेश जात्रा, टक्सार गणेश जात्रा, श्री ७ भीमसेन जात्रा, नारायण जात्रा,श्रीकृष्ण जात्रा, गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा, लक्ष्मीनारायण जात्रा, रिडीको हृषिकेशव जात्रा नहुने भएको छ। तानसेनमा सञ्चालन हुँदै आएका विभिन्न जात्राले दुई सय वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी जात्रा महोत्सव गरिसकेका छन्। तानसेनको भगवती जात्रा, टक्सार गणेश जात्रा र भीमसेन जात्रा, नारायण जात्राले दुई सय वर्षको महोत्सव मनाइसकेका छन्।

नेपालको वीरतासँग गाँसिएको नेपाल–अंग्रेज युद्धसँग जोडिएको तानसेनको भगवती जात्रा पनि यसपटक नहुने भएको छ। विसं १८७१/१८७२ को युद्धमा नेपाली सेनाले बुटवल जितगढी युद्धमा अंग्रेज सेनालाई पराजित गरेको सम्झनामा मनाइने विजयोत्सवको भगवती जात्रा यो वर्ष नहुने भएको हो। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी यो वर्ष २०२आंै विजयोत्सव रोकियो। तत्कालीन कर्णेल उजिरसिंह थापाको कमान्डमा रहेको नेपाली फौजले दुईपटक अंग्रेज सेनालाई बुटवल–जितगढी क्षेत्रबाट पराजित गरेको थियो। युद्धमा विजय हासिल गरेको सम्झनामा १८७६ सालदेखि भगवती मन्दिर स्थापना गरी प्रत्येक भाद्र कृष्ण पक्षको नवमी तिथि अर्थात् कृष्णजन्माष्टमीको भोलिपल्ट यो विजयोत्सव मनाउने प्रचलन छ।

नेपाल सरकारको निर्यण, तानसेन नगरपालिकाको निर्यणअनुसार कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी यस वर्ष साउन २८ गते परेको भगवती विजयजात्रा नहुने भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए। भगवती जात्रामा मन्दिरभित्र हुने सबै पूजाआजा गर्ने, बलि चढाउने र मन्दिरवरिपरि मात्र रथयात्रा गर्ने गरी तयारी गरे पनि सर्वसाधारणको रथायात्रा नहुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उदयले बताए। भगवती जात्रा वीरतासँग गाँसिएको प्रदेश ५ कै ऐतिहासिक, सांस्कृतिक पर्व भएकाले प्रदेश सरकारले सोही दिन सार्वजनिक बिदा घोषणा गरिसकेको छ।

कोरोना संक्रमणको जोखिमका कारण संस्कृतिको निरन्तरता हुन नसकेकोमा संस्कृतिविद् चिन्तित देखिएका छन्। ‘अहिले त कोरोना संक्रमणको चिन्ता छ। भोलिका दिनमा विभिन्न बहानामा यस्ता ऐतिहासिक सांस्कृतिक महत्वका जात्राहरू रोकिने हुन् कि भन्ने चिन्ता आमसर्वसाधारणमा छ’, संस्कृतिविद् निर्मल श्रेष्ठले भने। यस्ता जात्रा रोकिँदा भक्तजनमा रहेको ठूलो श्रद्धा र आस्था धरमराउने हो कि भन्ने चिन्ता रहेको उनले बताए।

संस्कृतिसँग जोडिएका भगवती जात्रा, गाईजात्रा रोक्न नहुने बरु सीमित व्यक्ति सहभागी भएर सञ्चालन गर्नुपर्ने संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले बताए। भगवती जात्रा नेपाली सेनाको वीरतासँग जोडिएकाले सानो रथलाई नगर परिक्रमा गराउने र सर्वसाधारणले आआफ्ना घरबाटै दर्शन गर्ने व्यवस्था गर्नुपर्नेमा सस्कृतिविद् सिंहले जोड दिए।

यो वर्ष तानसेनमा जात्रा सञ्चालन नहुने भएपछि व्यापार व्यवसायमा समेत चहलपहल छैन। ‘लकडाउन भो। व्यापार व्यवसाय ठप्प भो। असारदेखि पसल खुले पनि व्यापार छैन। जात्रासमेत नहुँदा झन् निराशा थपियो’, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भने।

Source Annapurna online

प्रतिकृया दिनुहोस्