Monday, October 19

सानेपामा रामचन्द्रले बोलाए अलग्गै भेला महाधिवेशनको तयारीसँगै कांग्रेसभित्र नेताहरुको घरमा कोठे बैठकसँगै गुट भेला

July 29, 2020 127

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्। पार्टी कार्यलय सानेपामा दुई बजेदेखि सुरु हुने भनिएको भेलामा संस्थापन पक्षले गरेका एकलौटी कदमबारेमा समीक्षा र आलोचना हुने असन्तुष्ट समूहका एक सदस्यले अन्‍नपूर्ण अनलाइनसँग बताए।पौडेलसहितको असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले महाधिवेशनको नतिजालाई प्रभावित पार्ने गरी गतिबिधि अघि बढाएको आरोप लगाएको छ।

महाधिवेशनको क्यालेन्डरसँगै कांग्रेसमा किचलो सुरु भएको हो। कांग्रेसको असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन आगामी फागुनमै गर्ने गरी आन्तरिक कार्यतालिकालाई अन्तिम रुप दिएपछि महाधिवेशनको सरगर्मी बढेको हो। नेताहरुको घरमा कोठे बैठकसँगै गुट भेला धमाधम भइरहेका छन्।

महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि सभापति देउवाले विभाग गठन गरेकोमा पौडेल समूह असन्तुष्ट छ। बैठकमा कार्यकाल सकिएको तरुण दल र साउन १६ मा कार्यकाल सकिने अर्को भातृ संस्था नेपाल विद्यार्थी संघको विषयमा समेत छलफल हुने बताइएको छ। संस्थापन पक्षले मनोमानी ढंगले क्रियाशील सदस्यता वितरण गरेको आरोप पौडेल पक्षले लगाएको छ।

कांग्रेसको भावी नेतृत्वका लागि शीर्ष तहका नेताहरूले सार्वजनिक रूपमै आकांक्षा व्यक्त गरिसकेका छन्। सभापति शेरबहादुर देउवाले अब एकपटक आफूलाई अन्तिम मौका दिनुपर्ने बताएका छन्। त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई स्वभाविक रुपमा भावी सभापतिका रुपमा प्रस्तुत गरेका छन्। त्यसैगरी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा रामशरण महतले सभापति पदमा आकांक्षा व्यक्त गरेका छन्। युवा नेता गगन थापाले युवा नेताका साथ पाए आफू सभापतिमा लड्ने घोषणा गरिसकेका छन्।

पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायतलाई पार्टीबाट निष्काशन गर्ने निर्णय र राप्रपाका सुनिल थापालगायतलाई भित्राउने कदमले यतिबेला कांग्रेसको तल्लो तहसम्म तरंगित भएको छ।कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डँडेलधुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई गरेको कारबाहीप्रति कांग्रेसभित्रैबाट विरोध र असन्तुष्टी भएको छ। त्यसैगरी सुनिललाई भित्राउने निर्णयप्रति नेतृत्व तहमा खटपट सुरु भएको छ।

Source Annapurna Online

प्रतिकृया दिनुहोस्