मंगलबार १२ आश्विन २०७८

छोराबुहारीलाई कोराेना संक्रमण, ९३ बर्षिय आमाको अन्त्येष्टिमा गाउँलेद्वारा अवरोध

छोराबुहारीमा कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट ९३ वर्षीया आमाको मृत्यु भयो । दुई वर्षदेखि दीर्घ रोगले थलिएकी आमाको मृत्युपछि अन्त्येष्टिमा आफन्तहरु बेलैमा आएनन् । केही मनकारी छिमेकीले घाटमा शव जलाउने तयारी गर्दा अर्को गाउँका स्थानीयले अवरोध गरे । दिनभर तनाव भयो र अन्ततः आफ्नै घर अगाडि खाल्डो खनेर पुर्नुपर्ने स्थिति सिर्जना भयो ।

यो घटना हो, स्याङ्जा आँधीखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबास पोखराचौरकोे । सोमबार गाउँका तीन जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित हुनेमा एक परिवारका श्रीमान् श्रीमती र अर्का एक थिए ।

संक्रमित श्रीमान् श्रीमतीकी ९३ वर्षीया आमाको मंगलबार निधन भयो, जो दीर्घरोगी थिइन् । आफूहरुमा संक्रमण देखिएकै कारण आमाको शव व्यवस्थापनमै अवरोध सिर्जना भएपछि मातृ शोकमा परेका छोराबुहारी विक्षिप्त बनेका छन् ।

पोखराचौरदेखि सधैं शव जलाउने घाट आँधीखोला किनारमा लैजाने तयारी हुँदै थियो । छिमेकीले ट्याक्टरमा दाउरा हालेर घाटतर्फ लैजाँदै थिए, वडा नम्बर ५ सेपत गाउँका बासिन्दा आए र कोरोना सर्नसक्ने भन्दै जलाउन नदिने अड्डी कसे ।

‘आमा तीन वर्षदेखि रोगले थलिनुभएको थियो । हामीलाई कोरोना देखिएको भोलिपल्ट बित्नुभयो । छिमेकीले शव जलाउन आँधीखोला किनारमै जैलान लाग्दा सेपत गाउँकाले जलाउन दिएनन्’ सासूआमाको किरिया बसिरहेकी बुहारी चन्द्रकलाले भनिन्, ‘कोरोना संक्रमणबाट मृत्यु भएको हुनसक्छ । हावाबाट कोरोना सर्नसक्छ, जलाउन दिन्नम् भनेर रोकेछन् ।’

आफूहरु संक्रमित भएकै कारण मृतक आमाको अन्त्येष्टिमा भएको अवरोधले मनै विक्षिप्त भएको सुनाइन् । ‘पीडामाथि पीडा थपियो । गाउँमा रमिता भयो र टुलुटुलु हेर्न बाध्य भयौं’ बुहारी चन्द्रकलाले अनलाइनखबरसँग भनिन् ।

घाटमा जलाउन नदिने बताएपछि खोला किनारमै पुर्न खाल्डो खन्न खोजे । त्यसमा पनि अवरोध भयो । ‘जलाउन दिन्नम् भनेपछि शव गाड्न खनेको खाल्डो पनि पुर्न बाध्य पारे’ एक छिमेकी भन्छन्, ‘साह्रै अमानवीय व्यवहार देखियो । केही सीप नलागेपछि घरदेखि केही तल ल्याएर गाड्नुपर्‍यो ।’ गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य चौकीका कर्मचारीले पीपीई लगाएर शव व्यवस्थापन गरे ।

छोराबुहारीमा कोरोना संक्रमण देखिएकाले मृतकलाई पनि संक्रमण भएको हुनसक्ने स्थानीयवासीमा आशंका थियो । त्यही कारण गाउँलेले बाटो छेक्ने, अन्त्येष्टि गर्न नदिने र गाड्न समेत रोकेको वडाका जनप्रतिनिधि बताउँछन् । ‘शव जलाउने घाट देखाउन म आफैं पनि गएको थिएँ । आँधीखोलामा माछा मार्न पुगेका केटाकेटीले हल्लाखल्ला गरेपछि गाउँलेको ठूलो भीड जम्मा भयो । प्रहरीले आग्रह गर्दा ट्याक्टरै जलाउने बताए’ वडा नम्बर २ का वडाध्यक्ष रामचन्द्र पौडेलले भने, ‘जलाउन नदिए पुरौं भनेर खाल्टो खनियो, तर त्यहाँ पनि गाड्न सकिने अवस्था बनेन ।’

बिहान ७ बजेदेखि शव व्यवस्थापनमा जुटेका गाउँलले बेलुका ७ बजेमात्रै गाउँलेकै पाखोमा शव गाडेका छन् । वडाध्यक्ष पौडेलले पीडा र दुःखमा अमानवीय र घृणित व्यवहार भएको बताए । प्रहरी प्रशासनको प्रयोग गरेर शव व्यवस्थापन गर्न पनि आफ्नै गाउँ भएकाले नसकिएको उनको भनाइ थियो ।

शव व्यवस्थापनमा अवरोध गर्ने गाउँ वडा नम्बर ४ मा पर्छ, जहाँका वडाध्यक्ष चिन्तामणि पौडेल पनि बुधबारको घटनाले गलत सन्देश गएको बताए । ‘म आफैं मुटुको समस्या भएकाले जान पाइनँ । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको र शंकास्पद रुपमा धेरैको मृत्यु पनि भएकाले धेरै जना डराएकाले घटना घटेछ’ वडाध्यक्ष पौडेलले भने, ‘जे भयो, त्यो राम्रो भएन ।’

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया