शुक्रबार ०१ आश्विन २०७८

कोरोनाले ३ दिनमा ३ भाइको निधन, घटना सुनेर गुमाइन्  दिदीले पनि ज्यान

काठमाडौं । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको थियो । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो ।

स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाए ।

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए । एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए । इम्तियाजको लन्ड्री पसल छ । २२ वैशाखमा कान्छा जहिरको निधन भयो । अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए । २४ वैशाखमा इम्तियाजले पनि संसार छोडे । ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो ।

हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो । खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो । कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ । झस्काएको छ । घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ ।

अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन् । मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन् । इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ । नेपालगन्जको सदरलाइनमा एकलैनी जाने बाटोको ठीक पश्चिमको गल्ली हुँदै ५० मिटरको दूरीबाट उत्तरमा जाँदा हल्वाइ परिवारको मिनी कोलोनी जस्तो घर आउँछ ।

२ कठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन् । छतहरू सबै जोडिएको एउटै गोल घर जस्तो देखिन्छ । एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन् । चारैतिर घर र बीचमा झन्डै १० धुर जति सबैको साझा आँगन छ । चारैतिर घर नै घर भएकाले पर्खाल लगाउनु परेको छैन । सबैका लागि एउटै मूल गेट छ । जहाँ अल्लाह कम्प्लेक्स लेखिएको छ ।

यही कोलोनीमा ७ भाइका छोराछोरी, नातिनातिना गरी ३५ जनाको परिवार बस्छ । सदरलाइनमा पुस्तौंदेखि बस्दै आएको यो परिवार सुनारमण्डीमा भने १२ वर्षअघि सबैै भाइको एउटै थलोमा घर बनाएर बस्न थालेको थियो । मंगलबार अपराह्नतिर संवाददाता पुग्दा यो बडेमानको घर पनि सुनसान थियो ।

मृतकका भतिजो (जेठो दाइ हाजी सब्बिरका कान्छा छोरा) सरप्राज मेहमुद मूलद्वारमा भेटिए । उनले दाइ सहनाज आदिल (माइलो बुवाको छोरा) लाई कुरा गर्न बोलाए । सहनाजले साइलो काका रियाज अहमदलार्ई डाके । ३ तले घरको दोस्रो तलाको उत्तरतर्फको झ्यालबाट उनले हेरिरहे । तल उनी आउन मानेनन् । मात्र चिहाइरहे ।

संवाददाताले बोलाउँदा पनि उनी तल झरेनन् । पत्रकार भनेपछि बरु झ्यालबाटै कुरा गर्न राजी भए । ‘लगातार एकपछि अर्को भाइको मृत्युु भयो। अहिले त तल झर्न पनि हिम्मत आउँदैन’, उनले पीडा सुनाए’, ‘यो महामारी के हाम्रै घरको लागि भएको हो र ?’ बेला–बेलामा उनको बोली अवरुद्ध हुन्थ्यो ।

‘सबै भाइ मिलेर बसेका थियौं । अभाव केही पनि थिएन । आवश्यक परेको बेलामा एकले अर्कोलाई सहयोग गथ्र्यौ । किन हाम्रै परिवारमाथि यस्तो समस्या भयो ?’, ३ भाइ गुमाएका रियाजले भने, ‘हामीले आफ्नो तर्फबाट बचाउन सक्ने सबै प्रयास ग¥यौं । उपचार गर्न पैसाको अभाव पनि हुन्थेन । सबै भाइ मिलेर जति लागे पनि पैसा त जम्मा भइहाल्थ्यो । पैसाले मात्र पनि मान्छे बाँच्ने रहेनछ ?’

कोरोनाले कसरी एक्कासि मान्छेको ज्यान लिँदोरहेछ, यो परिवार आश्चार्य चकित छ । ‘काका एजाजलाई मधुमेहको समस्या थियो । अरू कसैलाई दीर्घरोग थिएन । मधुमेहको रोगी भए पनि उहाँले औषधि सेवन गर्नु भएको थिएन । खानपिनबाटै मधुमेहलाई नियन्त्रणमा राख्नु भएको थियो’, भतिजा सहनाज आदिलले यर्थाथता दर्शाए ।

कान्छा जहिर क्रिकेट खेलाडी भएकाले हट्टाकट्टा नै थिए । अस्पतालमा भर्ना हुने दिनसम्म उनको अक्सिजन लेभल ९० थियो । एक्कासि सास फेर्न गाह्रो भएको थियो । तर, सुरुमा निधन उनकै भयो । निधन भएका तीनवटै भाइलाई सुरुमा खोकी र ज्वरो आएको थियो । उनीहरूले त्यसको औषधि खाए तर निको भएन ।

शंका लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । जटिल स्वास्थ्य समस्या नहुँदासम्म उनीहरू होम आइसोलेसनमै बसेका थिए । तीन भाइलाई कोरोना भएपछि अरू थप ४ जनाको कोरोना परीक्षण गरिएको थियो । मृतकद्वय काइला र कान्छाकी पत्नीलाई पनि कोरोना पुष्टि भयो तर उनीहरू होम आइसोलेसनमा बसेर निको भए । ती बाहेक अरु कसैलाई कोरोना संक्रमण भएन ।

अस्पतालमा कुर्ने छोरा भतिजाहरूमा पनि कोरोना भएन । आफूले काका गुमाए जस्तै पीडा अरू कसैले पनि अभिभावक गुमाएर भोग्न नपरोस् भन्नका लागि सहनाज आदिलको सुझाव छ, ‘कोरोना केही होइन नभन्नुस् । तीन/तीन जना अंकल गुमाएका हामीलाई मात्र थाहा छ कि यो कति खतरनाक छ । यो महामारीबाट जोगिने भनेको सुरक्षा मापदण्ड पालना गर्ने र सतर्क रहने नै हो ।’

घटनाको तीन, चार दिनसम्म त यो घरमा चुल्हो नै बलेको थिएन । आफन्तहरूले ल्याएर खुवाए । अन्त्येष्टिको ३ दिनपछि परिवारले अरू धार्मिक अनुष्ठान सबै फुकुवा गरिदियो । मानसिक र सामाजिक पीडा अझै निको भइसकेको छैन । अहिले पनि परिवारका आधा दर्जनभन्दा बढी महिलालाई त्यो मृत्युको घटनाले निद्रा लाग्दैन ।

सासू–बुहारीको निधन सुनारमण्डीमा मात्र होइन, जिल्लामा कोरोना र त्यसको प्रभावले एकैघरमा दुई वा सोभन्दा बढी ज्यान गुमाउने अरू पनि छन् । खजुरा गाउँपालिकामा सासू–बुहारीले नै ज्यान गुमाए । खजुरा ३ की ७२ वर्षीया खुमकला पुलामीले ११ वैशाखमा भेरी अस्पतालमा उपचारको क्रममा कोरोनाबाट ज्यान गुमाइन् ।

त्यसको २ दिनपछि १३ वैशाखमा ४७ वर्षकी बुहारी लक्ष्मी थापा पुलामीको पनि कोरोनाबाटै निधन भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले जानकारी दिए । ७ वैशाखमा उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो । खुमकलाका पति, नातिनीसहित अरू ४ जनालाई पनि कोरोना भएको थियो । सबै निको भए ।

दम्पती नै लग्यो कोरोनाले
त्यस्तै, नेपालगन्ज–५ को बच्चुपुरुवाका २८ वर्षका अशोक मौर्य (मुराउ) ले कोरोनाबाट ६५ वर्षका पिता रामगोपाल मुराउलाई भेरी अस्पतालमा उपचारको क्रममा गुमाए । बुबाको मृत्युको १४ घण्टामै ६० वर्षीया आमा सावित्रीदेवी मुराउको पनि मृत्यु भयो । उनी भन्छन्, ‘आमालाई पनि बुबालाई जस्तो कोरोनाको लक्षण थियो तर परीक्षण नै गरेनौं ।’ उनको परिवारमा २ दाजुभाइ र ५ दिदीबहिनी छन् । घरको आर्थिक अवस्था कमजोर छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बुधबार दिउँसो ३:३० बजेसम्म बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ५३ पुगेको छ । बाहिरी जिल्लाबाट भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गर्न आएका २०९ गरी यहाँका अस्पताल र आइसोलेसनमा मृत्यु हुनेको संख्या ४ सय ६२ पुगेको छ ।

धेरैले गत चैत महिनायता ज्यान गुमाएका छन् । जिल्लामा मंगलबारसम्म ७१ हजार ९५५ जनाको स्वाब परीक्षण गरिएकोमा १६ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ महिना लागेसँगै बाँकेमा संक्रमण दर र मृत्युदर पनि घट्दो क्रममा रहेको ओलीले दाबी गरे । अन्नपूर्ण पोस्ट दैनिकमा शंकरप्रसाद खनालले खबर लेखेका छन् ।

२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया