आइतबार ३१ आश्विन २०७८

अहिले अस्पतालमा अक्सिजन र बेडको अभाव छ । कतिपय संक्रमितको अक्सिजनकै अभावमा ज्यान गएको छ । यस्तै एक संक्रमित शुक्रराज ट्रपिकल अस्पतालको भूईमा छटपटाइरहेका छन् । ती कोरोना संक्रमित योगेश केसी हुन् । केसी काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा काम गर्छन् । नेपाल सफाइ श्रमिक संघका अध्यक्षसमेत रहेका केसीलाई महानगरमा काम गर्दागर्दै कोरोना पुष्टी भयो ।

उनले अस्पताल त के अक्सिजन समेत पाएनन् । महानगरपालिकामा चिनेका मानिस मार्फत उनले भनसुन समेत गरे तर त्यति गर्दा पनि कुनै अस्पतालमा बेड पाएका छैनन् । उनी अक्सिजन नहुँदा सास फेर्न गाह्रो भएर सोमबार नै टेकु अस्पताल आएका थिए ।

उनका छोराले भने, ‘मेरा बुवाले महानगरमा काम गर्दागर्दै घरमा कोरोना रोग ल्याउनुभयो । हामी परिवारका सदस्य सबै नौ जना नै संक्रमित छौं । मलाई अझै कोरोना निको भएको छैन । परिवार अनि बुवालाई बचाउन सकि नसकि हिँडिरहेको छु ।’

उनका अनुसार केसी अरूलाई पीरमर्कामा सहयोग गर्थे । ‘साथीहरूको समस्या सुन्दासुन्दै आज उहाँ आफैं संक्रमित हुनुभएको छ । हामीलाई पर्दा कसैले हेरेनन्’, उनले भने, ‘महानगरपालिकमा मेरा बुवाको राम्रो चिनजान छ । स्वयम्भू क्षेत्रमा सबैले चिन्छन् । राम्रो काम गरेको भनेर सबैले प्रशंसा पनि गरेको सुनिन्छ । तर, आज आपत् पर्दा महानगरका पदाधिकारीहरू कसैले वास्ता गर्दैनन् ।’

बिरामीलाई भुइँमा राखिएको छ । बेड छैन । महानगरपालिकामा कुरा गर्दा हुन्छ हामी मिलाउँछौं भन्छन्। तर, कसैले काम गरिदिँदैनन् । केसी केही दिनअघि नेपाल प्रहरी अस्पतालमा भर्ना भएका थिए । तर, बेड नपाएपछि भुइँमा सुताइएको थियो । चिसोले मुटु दुख्न थालेपछि घरमा फर्काइयो । ‘म बुवालाई बचाउन चाहन्छु । उहाँलाई निको भए सबैको सहारा हुन्थ्यो’, छोराले भने ।

उनका अनुसार अक्सिजन लेबल ६० देखि ६५ सम्म छ। डाक्टरका अनुसार अक्सिजन ९५ हुनुपर्छ । उनीसँगै उनका छिमेकी आएका छन् । उनले अप्ठ्यारो अवस्था देखेर सहयोग गर्न आएको बताए ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया