शनिबार १८ मंसिर २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने बताएका छन् । एकताको लागि समय लाग्ने सक्ने पनि उनले बताए ।

सरकार र विप्लव नेतृत्वको नेकपाको एउटै साझा लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । तीनबुँदे सहमति भएसँगै विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण ढंगले पार्टीको संगठन विस्तार गर्ने र बोकेको विचार कार्यान्वयन गर्न पाउने पनि उल्लेख गरे ।

अब शान्तिपूर्ण ढङ्गले गतिविधि गर्ने भएपछि प्रक्रिया पूरा गरेर नेता कार्यकर्ताहरूलाई छाडिने र छाड्न शुरु भएको उनले बताए । उनीहरूविरुद्ध मुद्दा मामिला भए त्यो पनि अन्त्य गरिने उनले बताए ।

शान्तिको प्यारामिटरमा नेपालले अमेरिका, पाकिस्तान, अफगानिस्तान लगायत मुलुकलाई यसअघि नै उछिनेको भन्दै प्रधानमन्त्री ओलीले अब विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण गतिविधि गर्ने अझ अन्य देशहरूलाई पनि उछिन्ने बताए ।

शान्तिपूर्ण गतिविधि गर्ने कदम चालेको भन्दै विप्लवलाई धन्यवाद समेत दिए । “यसका लागि म विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु, यस योगदानका लागि उहाँले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ, यो उहाँको साहसिक कदम हो,” प्रधानमन्त्री ओलीले बताए ।

शान्तिपूर्ण गतिविधि गर्ने यो स्थिति आउनुको पछि रातारात मात्रै नभई केही वर्षदेखिको निरन्तरको गोप्य वार्ताले काम गरेको उनले बताए । वार्तामा सहभागी तथा सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि व्यक्त गरेका छन् ।

news18nepal

२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया