आइतबार ०३ आश्विन २०७८

महानगरीय अपराध महाशाखाले २८ वैशाखमा न्यून गुणस्तरको अक्सिमिटर महँगो मूल्यमा बेच्न खोज्ने ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर बरामद पनि गरिएको थियो ।

 

कोरोना महामारीका कारण अहिले व्यक्तिको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको माग अत्यधिक छ । विभिन्न औषधिजन्य पसल एवं फर्माहरुले आम सर्वसाधारणलाई बजार मूल्यभन्दा अधिक मूल्य लिई नक्कली अक्सिमिटर खरिदविक्री गरिरहेको पाइएको हो ।

 

बरामद गरिएका अक्सिमिटरमा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद विक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन भेटिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बजार मूल्य ६÷७ सय पर्ने अक्सिमिटरहरु २ हजार २२० रुपैयाँसम्म अधिक मूल्यमा बिक्री गरेको पाइएको छ ।

 

गत ७ वैशाखमा नक्कली पीसीआर रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रालिमा महाशाखाले छापा मार्यो । काठमाडौंको सिनामंगलमा रहेको उक्त हेल्थकेयरका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझीसहित ८ जना पक्राउ परे ।

 

उनीहरुले विदेशमा काम गर्न जानेलाई नक्कली रिपोर्ट दिने गरेका थिए । उनीहरुले सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमूना समेत नलिई एक÷दुई घण्टाभित्र नै नक्कली पीसीआर रिपोर्ट बनाउँदै आएका थिए ।

 

यस्तै, महाशाखाको टोलीले २३ वैशाखमा काठमाडौंको वसुन्धराबाट गोरखास्थित आरुघाटका २५ वर्षीय रफिक मियाँलाई पक्राउ गर्यो । कोरोना संक्रमितको औषधि रिमडेसिभिर वास्तविक मूल्यभन्दा बढी लिएर बेचबिखन गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । उनले करिब ३० हजार रुपैयाँ पर्ने एक सेट रिमडेसिभिरलाई १ लाख २० हजार रुपैयाँ विक्री गर्न लागेका थिए ।

 

२४ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंले अक्सिमिटर तथा सेनिटाइजर कालोबजारी गर्ने एकजनालाई पक्राउ गर्यो । सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज संचालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं कालोवजारीको आरोपमा नियन्त्रणमा लिइएको हो । उनको साथबाट ८ थान अक्सिमिटर र १२४ ग्यालिन सेनिटाइजर समेत बरामद गरिएको छ ।

 

अक्सिमिटर तथा सेनिटाइजर कालोबजारी भइरहेको गुनासो आएपछि परिसरवाट विशेष टोली परिचालन गरी अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेका थिए ।

अक्सिमिटर कालोबजारीको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेका ७ जना

 

यी त केही प्रतिनिधि उदाहरण हुन् । पछिल्लो समय कोरोना महामारी बढेसँगै स्वास्थ्य सम्बन्धी अपराध पनि वृद्धि भएको प्रहरीको पछिल्लो कारबाहीको तथ्यांकले देखाउँछ । विशेषगरी रिमडेसिभिर, अक्सिमिटर, सेनिटाइजर, अक्सिजन सिलिन्डर विक्री, पीसीआर परीक्षण सम्बन्धी आपराधिक घटना बढेका हुन् ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंको सुरक्षा अवस्था ठीक रहेको र निषेधाज्ञाको कडाइका साथ पालना गराउन प्रहरी खटिरहेको बताए । साथै, अस्पतालमा पनि प्रेसर बढेकाले त्यता पनि सरसहयोग गर्दै आएको उनको भनाइ छ । ‘साँझ बिहान मान्छेहरु बाहिर निस्कन खोज्छन्, प्रहरीले माइकिङ गरेर सचेतना जगाउने काम गरिरहेको छ । त्यसरी पनि नमान्नेहरुलाई जरिवाना पनि गरेका छौं,’ सिंहले भने ।

 

उनका अनुसार निषेधाज्ञा उल्लंघन गर्नेहरुबाट करिब ५ लाख रुपैयाँ जरिवाना संकलन भएको छ । ‘निषेधाज्ञा सुरु भएयता करिब २० हजार जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेका छौं भने १७÷१८ वटा सवारीसाधनलाई होल्डमा लिएका छौं,’ उनले भने ।

 

यस्तै, कालोबजारी नियन्त्रणका लागि पनि सादा पोसाकमा टोली खटाएको र निगरानी गरिरहेको सिंहले बताए । विशेषगरी स्वास्थ्य सामग्रीमा कालोबजारी बढेको गुनासो आएकाले मास्क, सेनिटाइजर, अक्सिमिटर, रेमडिसिभिर लगायतमा कालोबजारी गर्नेहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

 

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्ड गरेर निरुत्साहित गरिरहेको जानकारी दिइन् । ‘पछिल्लो समय संक्रमण तीव्र बनेपछि सर्वसाधारण आफै सचेत हुनुपर्छ भन्ने भावना बढिरहेको छ,’ उनले भनिन्, ‘हामीले पनि १८ ठाउँमा चेकपोस्ट राखेर निषेधाज्ञा पालनामा जोड दिएका छौं । उल्लंघन गर्नेलाई कारबाही गरिरहेका छौं, पैदल गस्ती बढाएका छौं, सादा पोसाकमा प्रहरी खटाएका छौं ।’

 

सुरुका दिनहरुमा जरिवानाको रकम बढी भए पनि अहिले घटेको उनले बताइन् । निषेधाज्ञा उल्लंघन गर्ने दैनिक करिब ५०० जति सवारीसाधन, डेढ सय जना  व्यक्तिलाई होल्ड राखिएको बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार बजारमा कालोबजारी नहोस् सादा पोसाकमा प्रहरी खटाएर सूचना संकलन र अनुगमन भइरहेको छ । ‘जिल्ला प्रशासन कार्यालयसँग मिलेर १० वटा र प्रहरीले एकल रुपमा पनि दैनिक ३÷४ वटा अनुगमन भएको छ, हालसम्म कालोबजारी गरेको आरोप पक्राउ र कारबाही भने भएको छैन,’ उनले भनिन् ।

 

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले अनुगमन र निषेधाज्ञा पालनामा जोड दिएको बताइन् । उनले दैनिक २ सय जति सवारीसाधन निषेधाज्ञा उल्लंघन आरोपमा होल्ड गरिरहेको जानकारी दिइन् । ‘अनावश्यक रुपमा हिँडडुल गर्ने, मास्क नलगाउने, निषेधाज्ञा पालना नगर्ने व्यक्तिलाई होल्ड र जरिवाना गर्दै आएका छौं । यस्तो संख्या दैनिक डेढ दुई सय छ,’ उनले भनिन् ।

 

हानगरीय प्रहरी परिसर काठमाडौंले बरामद गरेको सेनिटाइजर

 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले महामारीको अवस्थामा हुनसक्ने आपराधिक घटनाहरुलाई ध्यान दिएर महाशाखाले निगरानी र कारबाही अघि बढाइरहेको जानकारी दिए । ‘विशेषगरी मेडिकल र मेडिसिनसम्बन्धी घटनाहरु हुने गरेको पाइएपछि त्यसतर्फ नै महाशाखा परिचालित भएको छ,’ उनले भने ।

 

केही अघि पीसीआर परीक्षणको रिपोर्ट नक्कली बनाउने गिरोहलाई पक्राउ गरेको महाशाखाले रेमडिसिभिर, अक्सिजन विक्री, अक्सिमिटर लगायतमा हुने कालोबजारीलाई पनि कारबाहीको दायरामा ल्याएको एसएसपी खापुङले जानकारी दिए । ‘अघिल्ला वर्षमा मास्कमा कालोबजारी देखिए पनि यस वर्ष मास्क पर्याप्त देखिएकाले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘बरु रेमडिसिभिर, अक्सिमिटर लगायतमा कालोबजारी भएको छ । त्यसका लागि टिम नै परिचालित गरेर कारबाही अघि बढाइरहेका छौं ।’

 

उनले सेनिटाइजरको पनि अनुगमन गरिरहेको जानकारी दिए । ‘बजारमा सेनिटाइजर पर्याप्त मात्रामा आएका छन्, जर कम्पनीहरुले गुणस्तरको भने पालना नगरेको उपभोक्ताको गुनासो छ,’ खापुङले भने, ‘त्यस्तो गरेको पाइएमा हामी कारबाही गर्छौं ।’

 

उनका अनुसार रेमडिसिभिर कालोबजारीमा १ जना, न्यून गुणस्तरको अक्सिमिटर महँगो मूल्यमा बेच्ने ७ जना र पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाउनेहरुलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिए ।

pardafas

१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया