शुक्रबार ०१ आश्विन २०७८

१० वटा स्थानीय तह रहेको सल्यान जिल्लामा एउटा पनि शववाहन छैन। शववाहन नहुँदा अहिले काेराेना संक्रमणबाट मृत्यु हुनेकाे शव व्यवस्थापनमा समस्या हुने गरेको छ।

अहिले जिल्ला अस्पतालमा मृत्यु हुने संक्रमितकाे शव शारदा नगरपालिकाकाे फाेहाेर फाल्ने टिप्परमा राखेर व्यवस्थापन गर्नु परेकाे स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताए ।

उनले भने, ‘यहि अस्पताल नजिकै शव दाहसंस्कार गर्दा नगरपालिकाकाे टिप्पर प्रयाेग गर्छाैं । अन्य पालिकामा शव पठाउनु परे उहाँहरु आफैले निजी गाडी भाडामा लिएर शव लिनुहुन्छ ।’ यसरी शव लिनकाे लागि निजी गाडी प्रयाेग गर्दा महंगाे भाडा जिल्लाबासीले तिर्दै आएका छन् । जिल्लामा एउटा शववाहनकाे अति आवश्यकता रहेकाे उनले बताए ।

जिल्ला अस्पतालमा छैन एम्बुलेन्स

यसैबीच सल्यान जिल्ला अस्पतालमा एम्बुलेन्स नहुदाँ समस्या भएको छ । काेराेना संक्रमित सँगै अन्य बिरामीहरुको अत्याधिक चाप हुने जिल्ला अस्पतालमा एम्बुलेन्स नहुदाँ नागरिकलाई सास्ती हुने गरेको छ ।

जिल्ला अस्पतालमा आकस्मिक उपचारका लागि आउने बिरामी तथा यहाँबाट रिफर हुने बिरामीले अस्पतालकाे एम्बुलेन्स नहुँदा महंगो शुल्क तिरेर अन्य एम्बुलेन्स तथा निजी सवारीसाधन रिजर्व गर्न बाध्य भएका छन् ।

जिल्ला अस्पतालको १४ बर्ष पुरानो एम्बुलेन्स गतवर्ष नै बिग्रिएपछि अहिले अस्पतालकाे नाममा कुनै एम्बुलेन्स छैन् । ‘याे एम्बुलेन्स बनाउने हाे भने नयाँ किन्नेभन्दा धेरै पैसा खर्च हुने देखियाे ।’ स्वास्थ्य कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले भने, ‘प्रदेश सरकारले अस्पतालकै बजेटले किन्नुहाेस् भन्छ, नयाँ किन्नलाइ हामीसँग बजेट छैन् ।’

काेराेना संक्रमितकाे चाप बढेपछि तत्कालकाे लागि कुनै निजी गाडी भाडामा लिएर एम्बुलेन्सकाे रुपमा प्रयाेग गर्ने तयारी रहेकाे उनले बताए ।

१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया